स्टार खेलाडी रोनाल्डो भए घाइते

युभेन्ट्सका प्रशिक्षक आन्द्रे पिर्लोले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो घाइते भएको पुष्टि गरेका छन्। आइतबार इटालियन सिरि एको खेलमा लाजियोसँग युभेन्ट्स १-१ गोलको बराबरीमा रोकिएको खेलमा रोनाल्डोले खेलको ७६ मिनेटमा मैदान छाडेका थिए।

लाजियोका मिडफिल्डर लुइस एल्बेर्टोसँग ठोक्किएपछि रोनाल्डो घाइते भएका थिए। त्यसपछि रोनाल्डोको स्थानमा पाब्लो डिबाला मैदान प्रवेश गरेका थिए। प्रशिक्षक पिर्लोले रोनाल्डोको चोटको विषयमा अहिले प्रष्ट पारेका छैनन्। तर रोनाल्डो घाइते भएको विषयमा भने उनले भने,’रोनाल्डो हाम्रा लागि मात्र होइन उनले खेल्ने सबै टिमका लागि महत्वपूर्ण खेलाडी हुन्। दुर्भाग्यवस उनको गोलीगाँठोमा समस्या देखिएको छ। जसका कारण उनी मैदान छाड्न बाध्य भए।’

साविक विजेता युभेन्ट्सले खेलमा रोनाल्डोकै गोलबाट अग्रता लिएको थियो। तर खेलको अन्तिम मिनेटमा लाजियोले बराबरी गोल फर्काएको थियो। बराबरीमै रोकिए पनि पिर्लोले टिमको प्रदर्शनमा खुसी व्यक्त गरे। ‘हामीले राम्रो खेल खेल्यौं। विपक्षीले हामीलाई दबाब दिन सकेन। तर अन्तिम १० सेकेन्ड सम्हालिन नसक्दा हामीले गोल खायौं। खेलमा सन्तुष्ट छु तर नतिजामा भने सन्तुष्ट हुने कुरा भएन,’ पिर्लोले भने।