बिरामीलाई २० रुपैयाँमा पेटभरी खाना खुवाउने ठाउँमा सिडियो नै खाली प्लेट लिएर लाइनमा

भेरी अस्पताल नेपालगञ्ज परिसरमा नयाँ कामको सुरुवात भएको छ । त्यहाँ उपचारका लागि आउने बिरामी र कुरुवाहरुका लागि २० रुपियाँमा पेटभरि खाना दिन थालिएको छ । तर उक्त ठाँउको दृश्य आइतबार फरक थियो । आइतबार बाँकेका प्रमुख जिल्ला अधिकारी नै प्लेट लिएर खाना खान लाइनमा बसेका थिए।

आईतबार भेरी अस्पतालमा पुगेर २० रुपियाँमा खाना खाएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले खानाको गुणस्तर राम्रो पाएको बताए । नेपालगञ्ज उप-महानगरपालिका र श्री सुन्दरकाण्ड मित्र मण्डलले सुरु गरेको अभियानबारे कुरा गर्दै प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भने, ‘मानवीय सहयोगका कार्यमा सक्नेजतिले सहयोग गर्नुपर्छ र यस कार्यलाई निरन्तरता दिनु पर्छ।’

सुन्दरकाण्ड मित्र मण्डलका संरक्षक विजय गुप्ताले दैनिक चारसय जनालाई आफहरुले खाना खुवाउन सक्ने जानकारी दिए । उनले हाल दैनिक एकसय पचास जनासम्म ब्यक्तिले खाना खाईरहेको जानकारी दिए।