गाडी चलाउनेलाई अब ट्राफिकले रोकेर नमस्कार गर्ने

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले ‘चालकसँग एक मिनेट कार्यक्रम’ सुरू गरेको छ। कार्यालयले आइतबारदेखि दैनिक राजमार्ग र सहरी क्षेत्रहरूमा सो कार्यक्रम सञ्चालन गरेको हो।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक मनोज कुमार शाहीका अनुसार लकडाउनपछि सम्भावित सवारी दु’र्घटना न्युनिकरण गर्न कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रम अन्तर्गत खटिएका ट्राफिक प्रहरीले सवारीसाधनलाई रोकी चालकलाई नमस्कार गर्नेछ।

त्यसपछि ट्राफिक प्रहरीले सवारीचालकलाई एक मिनेट सचेतनामुलक सन्देश दिने प्रहरी निरीक्षक शाहीले बताए।
उनका अनुसार ट्राफिक प्रहरीले कोरोनाभाइरसबाट बच्न अनिवार्य मास्क प्रयोग गरौं, गाडीमा अनिवार्य सिट बेल्ट लगाऔं, मोटरसाइकल चलाउँदा हेल्मेट लगाऔं, मापासे गरी सवारी नचलाऔं जस्ता सचेतनामुलक सन्देश दिनेछ।

एक मिनेटभित्रमा ती सचेतनामुलक सन्देश दिएपछि नमस्कार गरी बिदा गरिने प्रहरी निरीक्षक शाहीले बताए। कार्यक्रम गण्डकी प्रदेशका ११ वटै जिल्लामा सञ्चालन गरिएको छ। यो कार्यक्रम एक महिनासम्म सञ्चालन गरिनेछ।