कानुन व्यवसायीबाटै बलात्कार मुद्दादेखि त्रिभुवन विश्वविद्यालयको ‘गोल्डमेडल’लिन घुसको डिल

कानुन व्यवसायीमाथि नेपाल बार काउन्सिलले गरेका पछिल्ला कारबाही हुन् यी, जसले यो पेसामा कति धेरै विकृति छ भने प्रस्ट्याउँछ ।

पछिल्लो एक वर्षमा अधिवक्ताहरूमाथि कारबाही ह्वात्तै बढेको छ । काउन्सिलले साउनयता ११ अधिवक्तालाई कारबाही गरेको छ । ०५० मा स्थापना भएको काउन्सिलले हालसम्म ६३ जनालाई कारबाही गरेको छ ।

केही वर्षयता अधिवक्ताविरुद्ध उजुरी बढेसँगै कारबाही बढेको काउन्सिलका सचिव रामहरि शर्मा काफ्ले बताउँछन् । ‘यो पेसामा शुद्धीकरणका लागि पनि काउन्सिलले छानबिन र कारबाहीलाई तीव्रता दिएको हो,’ उनी भन्छन् ।

गत शुक्रबार पनि अधिवक्ता गुणराज निरौलाको लाइसेन्स रद्द गरिएको छ । काउन्सिलका अनुसार नैतिक पतन देखिने अपराधमा दोषी ठहर भएकाले उनीमाथि कारबाही गरिएको हो । किर्ते मुद्दामा अदालतबाट उनी दोषी ठहर भएका छन् ।

यस्तै, नसियत पाएका वरिष्ठ अधिवक्ता रामेश्वर सुवेदी आफैँले लेखेको कपाली तमसुकमा पेसागत मर्यादाविपरीत एक पक्षबाट मुद्दा लडेका थिए । प्युठान बार एकाइमा आबद्ध सुवेदीविरुद्ध उजुरी परेपछि काउन्सिलले छानबिन गरेको थियो । उनले आचारसंहिता उल्लंघन गरेको पुष्टि भएपछि नसियत दिइएको छ ।

गत शुक्रबार कारबाहीमा परेका अधिवक्ता नरवीन्द्रकुमार झाले बार एसोसिएसन, धनुषाको कोषाध्यक्ष छँदा संस्थाकै रकम हिनामिना गरेका थिए ।

अधिवक्ता सञ्जय अधिकारीविरुद्ध ठगीको उजुरी परेकाले उनी कारबाहीमा परेका छन् । अधिवक्ताद्वय प्रमोदकुमार सुवेदी र रमेश कुमारले मुद्दा जिताइदिने बताउँदै रकम असुलेको छानबिनबाट पुष्टि भएको छ । पारिश्रमिकबाहेक ठूलो रकमको चेकसमेत लिएको पुष्टि भएपछि उनीहरू अनुशासनको कारबाहीमा परेका हुन् ।

यस्तै, अधिवक्ता सुधा रिजालले दुई पक्षको सम्झौतापत्र र एक पक्षको फिरादमा समेत हस्ताक्षर गरेकाले कारबाही गरिएको काउन्सिलले जनाएको छ ।

१८ कात्तिकमा लाइसेन्स निलम्बन भएका रमेशबहादुर सिंह नेपाल प्रहरीका डिएसपी हुन् । नागरिकतामा मिति सच्याएर जागिर खाएको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि काउन्सिलले पनि उनको लाइसेन्स निलम्बन गरेको हो ।

गोल्डमेडल’लिन घुस

परीक्षामा अंक हेरफेर गराएको मुद्दामा दोषी ठहर गरी विशेष अदालतले अधिवक्ता सुरेन्द्र कोइरालालाई सजाय सुनाएको छ । उनले ‘गोल्डमेडल’ लिन त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई घुस दिई आफ्नो उत्तरपुस्तिकाको अंक बढाउन लगाएको पुष्टि भएको छ ।

तर, सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने भएकाले उनलाई हाल कारबाही नगरिएको सूचना अधिकारी सापकोटा बताउँछन् ।

ठगी मुद्दामा थुनामा रहेका अधिवक्ता तथा पृथ्वीनारायण क्याम्पसका सह–प्राध्यापक गोपाल शिवाकोटी चिन्तनबारे सञ्चारमाध्यमबाट जानकारी पाए पनि उजुरी नपरेको र मुद्दाको अन्तिम आदेश आएपछि मात्र कारबाही गरिने काउन्सिलका सूचना अधिकारी बताउँछन् । भन्छन्, ‘मुद्दाको टुंगो लागेपछि कारबाही गर्ने वा नगर्ने सम्बन्धमा निर्णय लिइनेछ ।’

बलात्कारसम्बन्धी मुद्दा प्रहरीमा मिलाउन घुसको डिल गर्ने कैलालीका अधिवक्ता हिमालयविक्रम विष्टमाथि पनि काउन्सिलले कारबाही प्रक्रिया बढाएको छ । उनलाई अख्तियारको टोलीले पक्राउ गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।