‘सरकारको दुष्कर्मबारे छलफल गर्न संसद् बोलाऔं ‘- बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकारको दुष्कर्मबारे छलफल गर्न संसद्‌ अधिवेशन बोलाउन माग गरेका छन् ।

शनिबार ट्‌विट गर्दै उनले सरकारको दुष्कर्म आमजनता र प्रतिपक्षी दलहरुको पनि चासोको विषय भएको भन्दै संसद् बोलाउन माग गरेका हुन् । नेकपाभित्रको आन्तरिक विवाद उसको आन्तरिक मामिला भएकाले सोबारे नेकपाले नै छिनोफानो गरोस् भन्दै उनले जनतासँग जोडिएका ६ वटा विषयमा छलफलका लागि संसद बोलाउनुपर्ने बताएका छन् ।

‘‘नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होला, उसैले छिनोफानो गरोस्, तर प्रधानमन्त्री केपी शर्मा ओली सरकारको दुष्कर्म र अकर्म आमजनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको विषय हुनाले बोलाएर छलफल गर्ने कि !’’ उनले लेखेका छन्, ‘‘कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्ध र अन्य विषयमा छलफल गर्नुपर्छ ।’’