‘कम्युनिस्ट बिग्रेपछि टाढासम्म गन्हाउँछ’

‘कम्युनिस्ट बिग्रेपछि अत्यन्त दुर्गन्धित हुन्छ’ धेरै वर्षअघि एक कम्युनिस्ट मित्रले भनेका उक्त भनाइ बारम्बार मेरो सम्झनामा आईरहन्छ।

प्रसंग ४३ वर्षअघिको हो। २०३४ असाेजमा म भर्खरै तत्कालीन ‘गाउँ फर्क राष्ट्रिय अभियान’ नारायणी अंचलको सदस्य सचिवमा मनोनित भएको थिएँ। मैले आफ्नो जिम्मेवारी सम्हालेको केही महिनापछि गाउँ फर्क राष्ट्रिय अभियान केन्द्रीय अध्यक्ष बिश्ववन्धु थापा जिल्ला भ्रमणको सिलसिलामा हेटौंडा आईपुग्नु भयो। दिनभरको औपचारिक भेटघाट र बैठक सकिएपछि हेटौंडास्थित ‘पि डब्लु डी’को अतिथि गृहमा उहाँको रात्रिभोजन र आवासको व्यवस्था मिलाईएको थियो।

त्यसबेलाको प्रचलन अनुसार अतिथि सत्कारको जिम्मेवारी हेटौंडा नगरपालिकाले लिएको थियो। राममबहादुर खड्का नगरपालिकाको प्रधानपञ्च हुनुहुन्थ्यो। चलन अनुसार वरिष्ठ अतिथिहरू जिल्ला भ्रमणमा आउँदा अतिथिसँगै बसेर स्थानीय नेता र जिल्लाका कार्यालय प्रमुखहरू पनि खानपिनमा सहभागी हुन्थे। बिश्ववन्धु थापाले भने शयनकक्षमा नै आफूले खाना खाने जानकारी दिनुभयो। फेरि उहाँ शाकाहारी र कहिल्यै मदिरा सेवन नगर्ने हुनुहुँदो रहेछ।

आयोजकलाई अप्ठ्यारो भयो। नगरपालिकाले २०/२५ जनालाई भोजनको लागि आमन्त्रित गरिसकेको थियो। जेहोस् अतिथिको चाहना बमोजिम उहाँकै कोठामा खाना पठाई दिएर स्थानीय अतिथिहरूले बाहिर हलमा त्यसबेलाको सबैभन्दा ठूलो राप्ति होटलबाट मगाइएको खाना र पेयपदार्थ सेवन गरे। भोलिपल्ट बिहान अध्यक्ष बिश्ववन्धु थापालाई बिदाई गर्न गेस्ट हाउसमा सबै भेला भए। गाडी चढ्नुअघि थापाले प्रधानपञ्चलाई खोजे। प्रधानपञ्च खड्का हस्याङफस्याङ गर्दै आईपुगे। थापाले सोध्नु भयो, ‘हिजोको खानाको कति पैसा होला’?

खड्का अकमक्क परे। हात जोडेर भने-‘सबै नगरपंचायतले व्यवस्था मिलाएको छ’ थापाले मानेनन्। ‘मेरो खाना खर्च किन नगरपंचायतले तिर्ने? भन्नुहोस् कति हो?’

अलमलिएका खड्काले भने- ‘दुई सय रुपैयाँ’
थापाले खल्तिबाट आफू, ड्राइभर र गार्डको गरेर ६ सय रुपैयाँ दिए। खड्काले हात थापे। यसअघि यस्तो घटनाको अनुभव कसैले गरेका थिएनन्। जिल्ला भ्रमणबाट काठमाडौं पुगेको दुई हप्ता पछि बिश्ववन्धु थापाले पदबाट राजीनामा दिए। बिजया दशमीको दिन बिपी कोइरालाको घर गएको आरोपमा केही अतिवादी पंचहरूले उहाँको निकै विरोध गरेपछि नैतिकताको आधारमा उहाँले राजीनामा दिनुभएको थियो। त्यसपछि कमलराज रेग्मी राजाबाट गाउँफर्क राष्ट्रिय अभियानको केन्द्रीय अध्यक्ष पदमा नियुक्त हुनुभयो।

नयाँ अध्यक्षको रुपमा उहाँले पनि जिल्ला भ्रमण सुरु गर्नुभयो र एकदिन हेटौंडा आईपुग्नु भयो। परम्परा र प्रचलन अनुसार हेटौंडा नगरपंचायतले आतिथ्यको जिम्मेवारी लियो। केही महिनाअघि बिश्ववन्धु थापाको व्यवहारबाट चकित रहेका नगरपंचायतका प्रधानपञ्च रामबहादुर खड्का यसपटक बढी नै सतर्क थिए। तर, रेग्मीको व्यवहार भने ठीकविपरीत देखियो। उहाँले हेटौंडा आईपुगेदेखि खानपिन र आवासबारे बिशेष अभिरूचि देखाउनु भयो। खानापिन होटलमा नै व्यवस्था गर्न सल्लाह दिनु भयो। आफ्नो रूचि अनुसारको ‘मेन्यु’ र ‘ड्राई फ्रुट’ को लिष्ट पनि दिनु भयो।

निर्धारित समयमा खानपिन सुरू भयो। त्यसैबीच एक जटिल समस्या आइलाग्यो। नगरपंचायतले होटल राप्तीमा उपलब्ध भए अनुसारको ब्राण्डको मदिरा ‘ सर्भ’ गर्‍यो। तर, मुख्य अतिथि रेग्मीले त्यो ‘ब्राण्ड’ आफूलाई नचल्ने भएकोले आफ्नो चाहना अनुसारको मदिरा जहाँबाट भए पनि खोजेर ल्याउन निर्देशन दिनुभयो। अन्यथा, रात्री भोजन नै बहिष्कार हुने संकेत देखियो। आफ्नो चाहना अनुसारको’ब्राण्ड’बारे समयमै प्रधानपञ्चलाई जानकारी नदिएकोमा रेग्मीले ‘पिए’ लाई सार्वजनिक रूपमा हकारे। प्रधानपञ्च खड्का हैरान भए।

चारैतिर कर्मचारी दौडाए। अन्ततः नगरपंचायतका कर्मचारीले खड्काको ईज्जत जोगाई दिए। तोकिएको ‘ब्राण्ड’ फेला पर्‍यो। ढिलो सुरू भएकाले झण्डै मध्यरातसम्म खानपिन जारी रह्यो।
भोलिपल्ट बिहान अध्यक्ष कमलराज रेग्मीको बिदाइको निम्ति सबै गेस्ट हाउसमा जम्मा भए। बिश्ववन्धु थापाले ६ सय रुपैयाँ भिडाएर गएको घटनाबाट चिन्तित प्रधानपञ्च खड्का केही अलमलमा थिए। तर, कुनै असहज परिस्थिति आएन।

हिजोको खानपिनको बेला देखिएको असहज अवस्था मेरो मनमस्तिष्कमा घुमिरहेको थियो। नजिकै उपस्थित मभन्दा पाका र पुरानो साथी भनेर कमलराज रेग्मीसंग भेट्न आएका साम्यवादी पृष्ठभूमिका मित्रलाई सोधें- ‘कम्युनिस्टहरू वैचारिकरूपले प्रतिबद्ध, त्यागी, तपस्वी, आफ्नो आदर्शको निम्ति मर्न मार्न तयार हुन्छन् भन्ने बुझेको थिएँ। तर, कमलराजजीको हिजोको व्यवहार मलाई अनौठो लाग्यो।’ती मित्रले सहजरुपमा भन्नुभयो, ‘तपाईंले असजिलो मान्नु पर्दैन। कमलराज रेग्मी अब कम्युनिस्ट हुनुहुन्न। छोडी सक्नुभयो। फेरि बुझिराख्नोस्, कम्युनिस्ट बिग्रेपछि अत्यन्त दुर्गन्धित हुन्छ। टाढा टाढासम्म गन्हाउँछ।’

गाउँफर्क राष्ट्रिय अभियान नारायणी अञ्चल सदस्यचिवको हैसियतमा बिश्ववन्धु थापा र कमलराज रेग्मी दुवैको उपरोक्त जिल्ला भ्रमणका बेला म प्रत्यक्ष उपस्थित थिएँ। दुई अलग राजनीतिक पृष्ठभूमिबाट आएका दुई अध्यक्षहरूको आचरण र व्यवहारवारे मलाई संधै कौतुहलता रहने गरेको छ। तर, मेरा कम्युनिस्ट मित्रको- ‘कम्युनिस्ट बिग्रेपछि अत्यन्त दुर्गन्धित हुन्छ’ भन्ने भनाई मलाई अहिले झन् सान्दर्भिक लागेको छ। समकालीन ‘कम्युनिस्ट कमरेडहरू’को व्यवहार, चरित्र र आचरणले उक्त भनाईलाई चरितार्थ गरिरहेको छ।