सांसद नै ठेकेदार भएपछि अलपत्र पर्‍यो नाग्म-गमगढी सडक !

सांसद नै ठेकेदार भएपछि नाग्म-गमगढी सडक अलपत्र परेको छ ।

कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डमा प्रतिनिधिसभा सांसद बहादुरसिंह लामाकै फर्मबाट काम थालिएको ठाउँमा निर्माण कार्य अलपत्र परेको हो ।

नाग्म–गमगढी सडकको ९३ किलोमिटरमध्ये सुरुवातकै १३ किलोमिटरसम्म सांसद लामाको फर्मबाट काम थालिएको थियो । तर, ठेक्का सम्झौता अवधिमा काम सम्पन्न नहुँदा स्थानीयले सास्ती खेपेका छन् ।

सडक डिभिजन जुम्लाका अनुसार १३ किलोमिटरमध्ये ६ किलोमिटर सडक चौडा, ग्राभेल, कल्भर्ट, कजवे, ग्याबिन, मेसिनरी टेवा पर्खालको काम अलपत्र परेको छ ।

कार्यालयका कामु डिभिजन प्रमुख लीलाबहादुर भण्डारीले ठेक्काको तिहारअगावै काम सुरु नभएमा कालोसूचीका लागि पत्रिकामा नाम दिने चेतावनी दिइसकेको बताए । सांसद लामा र नन्दलाल श्रेष्ठको हिमदुङ एन्ड थोकर र हिरा एन्ड नमिता जेभीको ठेक्कामा पाँच वर्षअघि काम थालिएको थियो ।