एकैदिन ८३ वटा मोटरसाइकल र कार ट्राफिकले समात्यो

दाङ । जिल्ला ट्राफिक कार्यालय दाङले नम्बर नलेखेर बजारमा चल्ने अनटेष्ट सवारी साधनमाथि निगरानी बढाएको छ ।

ट्राफिक कार्यालयले शुक्रबारदेखि ट्राफिक नियम उलङ्घन गरि नम्बर नराखेर चलाउने अनटेष्ट सवारी साधनलाई सम्झाइ बुझाइदेखि जरिवाना गरेर कारबाहीसम्म गरेको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख थम्मन जिसीले जानकारी दिए ।

सडकमा सरप्राइज चेकिङ गर्दै ट्राफिक प्रहरीले जिल्लाभरि निगरानी बढाएको हो । शुक्रबारमात्रै घोराहीको तुलसीपुर चोकसहित बजारका बिभिन्न भागमा चेकिङका क्रममा नम्बर नलखेर चलाइरहेका अनटेष्ट ३० वटा गाडीहरु नियन्त्रणमा लिर्इ जरिवाना गरिएको छ ।

जिल्ला ट्राफिक प्रमुख जिसीले ५३ वटा साना तथा ठुला सवारी साधनलाई पहिलो चरणमा सम्झाइ बुझाइ गरेर छाडिएको र यदि अटेर गरेमा जरिवाना गरेर कारबाही गरिने बताए । उनले यो सरप्राइज चेकिङ अभियान एक हप्ता चल्ने जानकारी दिए ।

नम्बर नलेखेर चलाउने अनटेष्टमा मोटरसाइकल र कारहरु धेरै रहेको ट्राफिक प्रहरीले जनाएको छ ।