नेपालले जनरल नरवणेलाई प्रदान गर्याे एक लाख थान मेडिकल मास्क उपहार

नेपाली सेनाले नेपाल भ्रमणमा आउनुभएका भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेलाई नेपालमा निर्मित एक लाख थान मेडिकल मास्क हस्तान्तरण गरेको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डामा भेटघाटको क्रममा जनरल नरवणेलाई एक लाख थान नेपालमा निर्मित मास्क र शान्तिको प्रतीक भगवान बुद्धको प्रतिमा हस्तान्तरण गर्नुभयो ।

प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा तीनदिने नेपाल भ्रमणमा रहनुभएका जनरल नरवणे आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गर्नुहुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुने नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ । उक्त समारोह साँझ आयोजना हुनेछ ।

त्यसअघि, भारतीय स्थल सेनाध्यक्ष जनरल नरवणेले बिहीबार बिहान जङ्गी अड्डा तथा सैनिक मञ्चमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । सैनिक मञ्चको वीर स्मारकमा नरवणेले पुष्पगुच्छा चढाई शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । उहाँले नेपाल भ्रमणमा आउनुभएका अन्य विशिष्ट सैनिक पाहुनाहरु सरह जङ्गी अड्डाको प्रागङ्णमा ओखरको बिरुवा रोप्नुभयो ।