कोरोना फैलिने डर : देउसीभैलो खेल्न रोक लगाइयो

जिल्ला प्रशासन कार्यालय तनहुँले तिहारमा यस वर्ष देउसीभैलो खेल्न रोक लगाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार कोभिड–१९को संक्रमण फैलन सक्ने भएकोले तिहारमा देउसींभैलो खेल्न रोक लगाइएको हो।

जिल्ला संकट व्यवस्थापन केन्द्रले उक्त निर्णय गरेको हो। यदि कसैले अटेर गरी देउसीभैलो खेलेको पाइएमा कानुनी कारबाही गरिने उनले बताए। ‘पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलँदै गइरहेको अवस्थामा आफू सुरक्षित रहँदै अरुलाई पनि सुरक्षित बनाउन चहलपहलमा न्यूनीकरण गर्न लागिएको हो, चहलपहल कम हुँदा संक्रमण फैलदैन,’ बरालले भने।

स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाएर एकाघरमा मात्रै चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरिएको उनले बताए। बरालका अनुसार सूचनाको अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ। सकेसम्म घरदेखि बाहिर ननिस्कने र निस्कनैपर्ने भएमा अनिवार्य रूपमा मास्क लगाएर मात्रै निस्कन जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ।

पर्वहरु नजिकिँदै गर्दा तनहुँ प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ। दीपावलीको समयमा भित्रिन सक्ने पटका तथा विस्फोटक पदार्थलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई कडाइ गरेको हो।

त्यस्ता पदार्थ भित्रिन सक्ने सम्भावित नाकामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए। उनका अनुसार जिल्लाको पूर्वी प्रवेश नाका मुग्लिन पुल जिपको प्रहरी चेक प्वाइन्टदेखि राजमार्गका सबै चेक प्वाइन्टमा कडाइका साथ चेकिङ गरिएको छ।