प्रधानमन्त्री हटाउन खुमलटारबाट हस्ताक्षर शुरु

प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल समूहले अविश्वासको प्रस्तावका लागि धमाधम सांसदहरूको हस्ताक्षर गराइरहेको आरोप लगाएका छन्।

डा.भट्टराईले प्रधानमन्त्री ओलीविरुद्ध दाहाल समूहले सांसदहरूलाई दवाव दिएर हस्ताक्षर गराइरहेको बताए ।

उनले सांसदहरूलाई धम्काएर हस्ताक्षर गर्न लगाएको कुरा आफूले सुनेको बताउँदै त्यस्ता कार्य नगर्न खुमलटारलाई चेतावनी दिएका छन्।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.भट्टराईले सांसदहरूलाई अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गराउन दुर्भाग्य भएको बताए । उनले प्रधानमन्त्री ओली संसदीय दलमा बहुमतमा रहेको दाबी समेत गरेका छन्।

‘प्रधानमन्त्रीविरुद्ध अध्यक्ष पुष्पकमल दाहालज्यूले सांसदहरूलाई अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गर्न लगाउनु भएको भनेर सुनिएको छ, यो आधिकारीक कुरा त होइन’, उनले भने, ‘यदि त्यस्तो भएको रहेछ भने दुर्भाग्य हुनेछ ।’

प्रधानमन्त्री ओलीका सल्लाहकार डा.भट्टराईले सहमति र सहकार्यका साथ अगाडि बढ्ने बेला यस्ता कुराले पार्टीमा एकताका लागि असर पुग्ने बताए।