दीपक र केकीको ‘छ माया छपक्कै’को पहिलो गीत सार्वजनिक (भिडियो)

काठमाडौं। यस वर्षको प्रतिक्षित चलचित्र ‘छ माया छपक्कै’को पहिलो गीत सार्वजनिक गरिएको छ। शुक्रबार बिहान ‘जुनको जुनेली’बोलको गीत सार्वजनिक गरिएको हो। यो गीत सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। चलचित्र दशैंको टिकापछि असोज २४ गतेबाट प्रदर्शनमा आउने गीतमा उल्लेख गरिएको छ। सार्वजनिक गीतमा बसन्त थापा र मिना निरौलाको स्वर छ। राजेन्द्र थापाको शब्द रहेको गीतमा बसन्त थापाले संगीत भरेका हुन्।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु फिचरिङ छन्। दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, बुद्धि तामाङ, सुपुष्पा भट्ट लगायतका कलाकार भिडियोमा देखिएका छन्।

बजारमा आईरहेका भन्दा यो गीत भिन्न लाग्छ। लोक लयमा तयार गरिएको गीतमा खेतमा रोपाइ गर्दादेखि दशैंमा पिङ र तिहारमा देउसीका दृश्य सम्मलाई अटाइएको छ। भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुतीमा तयार भएको चलचित्रको निर्माता रोहित अधिकारी हुन्। चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन्। दीपेन्द्र लामाको कथा, दीपकराज गिरीको पटकथा रहेको चलचित्रको कार्यकारी निर्मातामा जितु नेपाल र केदार घिमिरे छन्।

‘छ माया छपक्कै’ दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले रोहित अधिकारीसंग सहकार्य गरेर निर्माण गरेको हो। रोहित अधिकारीको एकल लगानीमा निर्माण भएको चलचित्रको मुनाफाको आधा प्रतिशत भन्दा बढी रकम दीपक–दीपाको टिमलाई जानेछ। चलचित्रले उमेर अन्तर भएका युवा र युवतीको प्रेम कथालाई देखाउने बताइएको छ ।

चलचित्रमा हरि हुमागाँको छायाँकन, रोशन श्रेष्ठको द्धन्द्ध, विपिन मल्लको सम्पादन छ।