कसैले पनि भोकै बस्न पर्दैन : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महामारीका कारण रोजगारी गुमेर खान नपाएका कसैले पनि भोकै बस्न नपर्ने बताएका छन् । उनले यदि कसैलाई त्यस्तो अप्ठेरो परेको भए महानगरका नजिकका वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन् । मेयर शाक्यले कोरोना कहरका वेला सार्वजनिक स्थलमा अस्वस्थ र असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कार्यलाई व्यवस्थित गर्न र विकल्प खोज्न आग्रह गरे ।

टुँडिखेललगायत खुला ठाउँमा वितरण भइरहेको खाना वितरणमा महानगरले रोक लगाएको भन्दै आलोचना भएपछि बुधबार पत्रकार सम्मेलन गर्दै मेयर शाक्यले भने, ‘हामी काठमाडौंलाई गरिखानेहरूको सहरका रूपमा चिनाउन चाहन्छौँ, मागिखानेहरूको होइन । सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको ख्याल नगरी जथाभावी खाना खुवाउने र उनीहरूकै कथाव्यथा बेच्ने कार्य उचित हैन ।’

महानगरवासीको स्वास्थ्यप्रति संवेदनशील रहेको भन्दै उनले कोभिड–१९ का कारण प्रभावित भएका असहाय, अशक्त, अति विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने नागरिकलाई महानगरपालिकाले सहयोग गर्ने बताए ।

‘हुनेखानेले मात्रै होइन, गरिबले पनि स्वस्थ्यकर र पेटभरि खाना खान पाउनुपर्छ, यसमा महानगर दृढ छ, श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न,’ मेयर शाक्यले भने, ‘अहिले मुलुकमा लकडाउन छैन, यस्तो वेलामा हामी सबै समन्वय गरेर अघि बढ्ने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरूको चुलो ननिभ्ने व्यवस्था सजिलै गर्न सकिन्छ ।’

उनले काठमाडौंका पुरानो बसपार्कलगायत विभिन्न सार्वजनिक स्थलमा फोहोर, धुलोधुवाँ र भिडभाडबीच स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापदण्डसमेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइरहेको गुनासो आएकै कारण त्यसलाई व्यवस्थित गर्न आग्रह गरेको बताए ।

‘समस्यामा परेका नागरिकलाई सहयोग गर्ने व्यक्ति र संघसंस्थाप्रति हामी आभारी छौँ, यसमा महानगर सहकार्य गर्न पनि तयार छ, तर व्यवस्थित गर्नु जरुरी देखिएको छ,’ उनले भने ।

स्वास्थ्य मापदण्ड पूरा गरेर महानगर आफैँले पनि खाना वितरण गरेको जिकिर गर्दै आवश्यकता परे महानगरले पनि यो कार्यलाई निरन्तरता दिने बताए । उनले महानगरपालिकाले ३२ वटै वडामार्फत ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने मूल नाराका साथ खान नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने कार्य गरेको बताए ।

यो अवधिमा मात्रै महानगरपालिकाले एक लाख ५० हजारभन्दा बढी परिवारलाई राहत वितरण र दुई लाख ५० हजारभन्दा बढीलाई खाना खुवाउने कार्य गरेको उनको भनाइ थियो ।