भारतीय सेनाध्यक्ष नरवणे ढाकाटोपी लगाएर पशुपतिको आरतीमा (फोटो सहित)

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे बुधवार साँझ पशुपतिनाथको आरतीमा सहभागी भएका छन् । कोरोना संक्रमणको जोखिमका कारण मन्दिर बन्द भएको हुनाले उनले ‘विशेष पूजा’ गरेनन् ।

नेपाली ढाकाटोपी लगाएर नरवणेले पशुपति मन्दिरसँगैको बागमती पारीबाट आरती अवलोकन गरेका छन् । करिब ४५ मिनेट आरती अवलोकन गरेर उनी कालिमाटी स्थित सोल्टी होटल फर्किए । ०७७ जेठमा नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएपछि नेपालमा उनको चर्को विरोध भएको थियो ।

तर, भारतीय सैन्य प्रमुखले शिरमा नेपाली ढाकाटोपी लगाएर नेपालीको मन जित्ने प्रयास गरेका छन् । पशुपतिनाथको मन्दिर बन्द भएकोले नरवणेले आरती दर्शनमात्रै गरेको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले बताए ।

पौडेलले भने–‘आज आरती दर्शन गर्ने अनौपचारीक कार्यक्रम थियो, ३ दिनको उहाँको भ्रमणको औपचारीक कार्यक्रम चाहिँ भोली बिहानबाट शुरु हुन्छ ।’