ग्राहकले भनेजस्तै डिजाइनमा बनाइने नेपाली चकलेट

कोही विदेशबाट आउने भयो भने हामी अधिकांशले भन्ने कुरा एउटै हुन्छ, ‘चकलेट ल्याउनू है।’

विदेशी चकलेट स्वादिला हुन्छन्। तर, के तपाईंलाई थाहा छ नेपालमा पनि विदेशका जस्तै चकलेट बन्छन्? र, आफूले सोचेजस्तै डिजाइनमा बनाउन पनि सकिन्छ?

ग्राहकको मागअनुसारका डिजाइनमा चकलेट बनाउने व्यक्ति हुन्, हात्तीवनका इसान पाण्डे।

युवा उद्यमी इसानले बनाउने ‘स्विफल्स’ चकलेट कारखानामा मेसिनबाट बन्ने होइनन्। उनले रोजगारी दिएका दुई महिलाले घरमै बनाउने हुन्।

इसानको कम्पनी ‘स्विफल्स’ ले साधारण र ‘कस्टमाइज्ड चकलेट’ बनाउँछ। कस्टमाइज्ड भनेको ग्राहकले जस्तो भन्छन् त्यस्तै।

‘साधारण चकलेट बनाउने नेपाली उद्यमी अरू पनि हुनुहुन्छ। मलाई भने केही नौलो काम गर्न मन लाग्यो,’ काठमाडौं विश्वविद्यालय, धुलिखेलबाट स्नातक गरेका इसानले भने, ‘विशेषगरी कर्पोरेट हाउस र कम्पनीहरूको मागअनुसार हामी चकलेट बनाएर दिन्छौं।’

विभिन्न कम्पनीहरूले आफ्नै ब्रान्डका नाममा कप, टिसर्ट, कलम लगायत सामान बनाउँदै आएको इसानले देखेका थिए। उनीहरूका लागि चकलेट बनाउने ‘आइडिया’ इसानले तीन वर्षअघि सोचेका हुन्। उनको सोच साकार भएको भने गत वर्ष मात्र हो।

चार वर्षअघिको कुरा। इसान काठमाडौं विश्वविद्यालयमै पढ्दै थिए। एक दिन कलेजमा ‘आइडिया स्टुडियो’ नामक कार्यक्रम आयो। यसले नयाँ सोच भएका उद्यमीलाई सहयोग गर्दै आएको छ। उद्यमीका नवीन र सम्भावनायुक्त सपनालाई बाटो पनि देखाइदिन्छ।

त्यो कार्यक्रममा इसानको चासो बढ्यो। आफ्नी समकक्षी स्मृति तुलाधरसँग सल्लाह गरे। उनीहरूले ‘आइडिया’ बुझाउने निधो गरे।

भारतमा अनलाइनमार्फत् चकलेट व्यवसाय फस्टाउँदो छ। त्यसैबाट दैनिक भटाभट नयाँ उद्यमी आइरहेका इसान र स्मृतिले थाहा पाएका थिए। त्यस्तै खाले आइडियाको खाका उनीहरूले बुझाए। चकलेट बनाएर बेच्ने सोच ‘पास’ भयो।

उनीहरूमध्ये कसैलाई पनि चकलेट उत्पादनबारे जानकारी भने थिएन। चकलेटको स्वादले जिब्रो लठ्याए पनि बनाउने तरिकाबारे एकरत्ति ज्ञान थिएन।

‘आइडिया त पास भयो, काम अघि बढाउनु थियो। चकलेटबारे हामीलाई खानेबाहेक केही जानकारी थिएन,’ इसानले हाँस्दै भने, ‘त्यसैले हामी युट्युबमा बनाउने तरिका हेरेर सिक्न थाल्यौं।’

युट्युबमा अनेक तरिका थिए। चाहिने सामग्री अनेकथरि। मेसिन त झन् कस्ताकस्ता। यी सबै यहाँ फेला पार्न सकिँदैन भन्ने उनीहरूले बुझे। त्यसैले यहीँका कारखानामा गएर चकलेट बनाउने विधि बुझ्ने निर्णय गरे।

यो पनि सजिलो कहाँ थियो र!

कम्पनीहरूको गोपनीयताका कारण कारखानामा जानसमेत पाएनन् इसानले। त्यहाँका कर्मचारीले पनि केही भन्न चाहेनन्।

उनलाई भने जसैगरी चकलेट बनाउने तरिका थाहा पाउनु थियो। विकल्प भेटिरहेका थिएनन्।

दिनदिनै बढ्दै गएको छटपटिले झ्वाट्ट एउटा उपाय फुरायो। उनी कलेजका लागि भन्दै विद्यार्थी भएर चकलेट कारखाना गए।

त्यो उपायले कारखाना छिर्नसम्म मद्दत गर्यो। चकलेटबारे जानकारी भने थोरै व्यक्तिले थोरै नै दिए।

‘बनाउने तरिका जान्नु हाम्रो लागि सबभन्दा गाह्रो काम थियो। कसैले खुलेर केही भन्थेनन्। हुन पनि कम्पनीको नीति होला। तर मलाई चाहिएकै थियो,’ इसानले भने, ‘कामचलाउसम्म सिक्ने मौका पाएँ त्यो बेला।’

त्यो सिकाइ इसान र स्मृतिले व्यवहारमा उतारे।

चाहिने सामान ल्याएर एउटा कोठामा बसेर चकलेट बनाए। परीक्षणका लागि कलेजमै बेचे।

‘कस्तो भयो होला, मनपराउने हुन् कि होइनन् भन्ने थियो,’ उनले भने, ‘कलेजका साथीहरूले राम्रो प्रतिक्रिया दिएपछि डर हट्यो। थप आँट र जोश आयो।’

नेपालमा बनेको चकलेट मिठो हुँदैन भन्ने मानसिकता उनीहरूले तोडेका थिए। साथीहरूले दिएको आँट र जोश समात्दै उनीहरूले सन् २०१५ मा व्यवसाय नै गर्ने निर्णय गरे। व्यवसायका लागि नाम चाहिन्थ्यो। के राख्ने?

कलेजमै साथीहरूमाझ राय लिए। कसैले सुझायो- स्विफल्स। शब्द उनीहरूलाई मनपर्यो। भन्न र सुन्न राम्रो। यसको कुनै विशेष अर्थ छैन।

तै सबै साथीलाई मनपरेपछि यही नाम छाने।

अनि सुरू भयो विद्यार्थीद्वय इसान र स्मृतिको उद्यम यात्रा। पढाइमा तल्लीन हुनुपर्ने बेला व्यवसायी बन्न उनीहरूलाई सजिलो थिएन। दुई जनाको भरमा चकलेट बनाएर बेच्नु चुनौतीपूर्ण थियो। त्यो पनि सरसामान र पूर्ण ज्ञानबिना।

‘एकातिर पढाइ, अर्कोतिर कम्पनी र प्रचारमा उत्तिकै समय दिनुपर्ने। हामीलाई चटारो नै थियो,’ उनले आफ्ना सुरूआती दिन सम्झिँदै भने, त्यहीँमाथि व्यवसायमा लगानी गर्न पैसा नहुँदाको पीडा छुट्टै।’

दुवै जनाले मिलेर ४०-५० हजार जम्मा गरेर कम्पनी सुरू गरे।

त्यो बेला कहिले राति एक बजे, कहिले तीन बजे उठेर चकलेट बनाएको उनी आज पनि सम्झिन्छन्। रातभर चकलेट बनाउने, बिहान कलेज जाने, दिउँसो बिक्रीवितरणमा हिँड्ने।

चकलेट बनाउनेदेखि प्याकेजिङसम्मको काम इसान र स्मृतिले नै गर्थे। अप्ठ्यारो परिस्थिति पार गर्दै उनीहरूले आफ्नो ब्रान्ड ‘स्विफल्स’ लाई बामे सर्ने बनाइसकेका थिए।
मागअनुसार चकलेट बनाएर वितरण गर्ने काम उनीहरूको दैनिकी भइसकेको थियो। नाम चलेका कफी पसल र कर्पोरेट हाउसहरू स्विफल्सका ग्राहक भए।

पहिल्यै अर्डर लिएर उनीहरू काम गर्थे। काम गर्न नभ्याए ज्यालादारीमा मान्छे खोज्थे। उक्सिँदै गएको व्यवसायमा उनीहरू खुसी थिए।

इसानको सोच भने यतिमा सीमित थिएन। उनी साधारण चकलेट मात्र नभएर त्यसलाई परिमार्जन गरेर भिन्न तरिकाले बनाउन चाहन्थे।

‘मलाई चकलेट ‘कस्टमाइज’ गर्न मन थियो,’ उनले भने, ‘मान्छेले भनेअनुसारका डिजाइन र रङमा बनाउन। कम्पनीहरूले आफ्नै ब्रान्डको नाम वा आवश्यकताअनुसार चकलेट पाए अझै राम्रो गर्न सकिन्छ भन्ने थियो।’

यसनिम्ति चकलेट ‘कस्टमाइज’ गर्ने मेसिन चाहिन्थ्यो। उनले खोजे। मेसिन भेटिएन। विदेशबाट ल्याउँदा पैसा धेरै लाग्ने भयो।

‘सोचेभन्दा धेरै पैसा लाग्ने रहेछ,’ इसानले भने, ‘मेसिन पनि यहीँ कस्टमाइज गरेर बनाउने सोचेँ। केही इञ्जिनियरिङ कलेजमा गएर मेसिन बनाइदिन आग्रह पनि गरेँ। तर हामीलाई चाहिएजस्तो मेसिन बनाउन कसैले सकेन।’

केही उपाय नलागेपछि चकलेट ‘कस्टमाइज’ गर्ने इसानको सोच त्यत्तिकै रोकियो। उनी पुरानै तरिकामा थामिए।

यसैबीच स्मृति र इसानको स्नातक पढाइ सकियो। सँगै पढ्दै व्यवसाय क्षेत्रमा छिरेका यी दुई उद्यमीको बाटो मोडिन थाल्यो। स्मृति आफ्नो व्यक्तिगत काममा व्यस्त भइन्। इसान उच्च शिक्षाका लागि चीन गए।

उनीहरूको ‘स्विफल्स’ यात्रा छुट्यो।

संघर्ष गरेर सुरू गरेको बाटो बीचमै छाड्नुपर्दा जोकोहीलाई दुःख लाग्छ। इसानका लागि भने दुःखभन्दा बढी ‘टर्निङ प्वाइन्ट’ बन्यो।

व्यवसायमा भिजिसकेका इसान चीन गए पनि चकलेट कस्टमाइज गर्ने सोच मरेन। चीनमै मेसिन खोज्न थाले। ‘कस्टम प्रिन्टिङ बक्स’ बनाउन सिके।

‘चीनमा मैले त्यहाँ पाउने चकलेटहरूबारे जानकारी लिइरहेँ,’ इसानले भने, ‘मेसिनबारे बुझ्दै गर्दा ‘कस्टम प्रिन्टिङ बक्स’ले पनि चकलेट कस्टमाइज गर्न मिल्ने थाहा पाएँ। अनि त्यो बक्स बनाउन सिकेँ।’

उनको अनुसार पचास हजार रूपैयाँ पर्ने ‘बक्स’ लाई उनले दुई हजार लागतमा बनाए। सस्तैमा तरिका जानेपछि इसानले आफ्नो अधुरो चकलेट व्यवसायलाई निरन्तरता दिन खोजे। आफूले सोचेजस्तो चकलेट बनाउन उनी उत्सुक थिए।
उनी फर्केर सन् २०१८ मा फेरि ‘स्विफल्स चकलेट’ ब्युँताए। यो चरणमा भने उनी एक्लै थिए। स्मृतिले आफ्नै काम थालिसकेकी थिइन्।

इसानले ‘स्विफल्स’ लाई फेरि दौडाए।

‘अहिले स्विफल्स कस्टमाइज्ड चकलेट बनाउने नेपालकै पहिलो ब्रान्ड बन्न सफल भएको छ,’ उनले भने, ‘धेरै मिहिनेतपछि यहाँसम्म आइपुगेँ। थुप्रै कम्पनीहरूका लागि कस्टमाइज्ड चकलेट बनाइसकेँ। विदेशतिर पनि माग हुन थालेको छ।’

चाडपर्व र कम्पनीहरूको वार्षिकोत्सव लगायत अवसरमा बढी अर्डर आउने इसान बताउँछन्।

केही समयअघि बेलायतमा भएको प्रदर्शनीमा पर्यटन बोर्डले पनि नेपालका तर्फबाट ‘स्विफल्स’ चकलेट लगेको उनले जानकारी दिए।

कसैले व्यक्तिगत रूपमा केही अक्षर वा लोगो लेखाएर बनाउन सक्छन्। कम्तीमा एक प्याकेट अर्डर गर्नुपर्छ।

अर्डरबाहेक उनले सामान्यतया दुई प्रकारका प्याकेजिङमा चकलेट बिक्री गर्दै आएका छन्। एउटा प्याकेटमा बाह्रवटा हुने ‘स्विफल्स कस्टमाइज्ड चकलेट’ को ५ सय रूपैयाँ पर्छ भने दसवटा हुने साधारण चकलेटको एउटा प्याकेटलाई २ सय ५० पर्छ।

बजारमा देशी-विदेशी ठूल्ठूला चकलेट ब्रान्ड हाबी भएकाले ‘स्विफल्स’लाई गाह्रो छैन?

इसान आफ्नो ब्रान्डसँग प्रतिस्पर्धा नभएको बताउँछन्।

‘स्विफल्स बजारमा पाउने ठूला ब्रान्डभन्दा भिन्न छ,’ उनले भने, ‘यहाँका कुनै ब्रान्डले कस्टमाइज्ड चकलेट बनाउँदैनन्। त्यसैले हामीले तिनीहरूसँग प्रतिस्पर्धा गर्नै पर्दैन।’

उनी थप्छन्, ‘स्विफल्सले मुख्य प्राथमिकता चकलेटमार्फत् हुने बजारीकरणलाई दिन्छ। यसले अरू कम्पनीको ब्रान्डिङमा मद्दत गर्छ।’

उनले ‘स्विफल्स’ फेसबुक अकाउन्टमार्फत् आफ्ना उत्पादन प्रवर्द्धन गर्दै आएका छन्।