अमेरिकाको घर अझै पनि रविकै नाममा, पर्खिदै बसेकी छिन् छोरी

काठमाडौ। ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेले अमेरिकामा रहेकी पत्नी इशा लामिछानेसँग सम्बन्ध विच्छेद गरेर निकिता पौडेलसँग बिहे बन्धनमा बाँधिसकेका छन्। इशासँग सम्बन्ध विच्छेद गर्दा रविले सार्वजनिक रूपमै अमेरिकाको घर पूर्वपत्नी इशा लामिछानको नामम पास गरिदिएको बताएका थिए।
तर, त्यो उनको भनाइ गलत सावित भएको छ। अमेरिकाको बाल्टिमोरमा रहेको घर अझैपनि रविकै नाममा रहेको पुष्टि भएको छ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनको मुद्दामा चितवन प्रहरीको हिरासतमा रहेका बेला रविको अमेरिकामा रहेको घर लिलामीमा पर्न लागेको चर्चा भएको थियो। रियलटरले महिनावारी किस्ता (मोर्गेज) तिर्न नसकेको भन्दै केही दिनअघि मात्र रविको नाममा ४५ दिनको क्लोजर नोटिस जारी गरेपछि घर रविकै नाममा रहेको खुलेको हो। इशाले सम्बन्ध विच्छेद गर्दा घरको मासिक किस्ता (मोर्गरेज) पनि आफैले तिरिदिने र दुई छोरीको भरणपोषण पनि आफैले गरिदिने रविले सहमति जनाएका थिए। तर, यथार्थमा त्यस्तो त्यो पनि झुट भएको खुलेको छ।

घरजग्गाको भाउ आकाशिएका बेला महंगोमा किनेको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा रहेको घरको मोर्गेज धेरै भएकाले उनकी पूर्वश्रीमती इशाले त्यो समयमा तिर्न सकिनन्। रविका नाममा भएको घर कानूनी रूपमा इशाको नभएकाले त्यसको मोर्गरेज तिर्ने रिस्क पनि नलिएको हुनसक्ने अनुमान गरिएको छ। मोर्गरेज तिर्न नसकेर क्लोजरको सूचना आएपछि रविकी पूर्वपत्नी इशाले छोरीहरूसँग सल्लाह गरेर त्यसलाई बेच्ने योजना बनाइन्। त्यही योजनाअनुसार रियलटर मिस्टर कुपरका प्रतिनिधिलाई भेट्न गएकी उनलाई घर बेच्न सल्लाह दिइयो। घरको स्वामित्वको समस्या देखाएपछि रियल्टर प्रतिनिधिले छोरीको नाममा अधिकृत वारेसनामा ल्याए आफूले बेच्ने प्रवन्ध मिलाइ दिने बताएका छन्।

त्यहीअनुसार रविकी जेठी छोरी रूचि लामिछानेले त्यो घरको अधिकृत वारेसनामा आफ्नो नाममा पठाइदिन रविलाई अनुरोध गरेको बताइएको छ। तर, प्रहरी हिरासतबाट धरौटीमा छुटेका रविले अधिकृत वारेसनामा अझै नपठाएको बताइएको छ। अधिकृत वारेसनामा रविले नपठाएकाले घर बेच्ने प्रक्रिया अगाडि बढ्न सकेको छैन। उनकी छोरी रुचिले बाबु रविको वारेसनामा पर्खेर बसिरहेकी छिन्। अमेरिकामा सामान्यतः मूल्यको एक प्रतिशत अग्रिम भुक्तानी दिँदा ३० वर्षे मासिक किस्तावन्दीमा घर खरिद गर्न पाइन्छ।

रविले सन् २००६ को अप्रिल २६ मा बाल्टिमोर काउन्टिको पार्कभिलको क्यालिफोर्निया एभेन्यूमा रहेको ३०४२ नम्बरको घर तीन लाख १४ हजार डलरमा किनेका थिए। तर, अहिले यो घरको मूल्य रेडफिनका अनुसार घटेर दुई लाख ८५ हजार ६ सय ८८ मात्र कायम भएको छ। ३० वर्षे किस्ताबन्दीमा २००६ मा किनेको किनेको घर चुक्ता हुन सन् २०३६ सम्म कुर्नुपर्छ। यसका लागि १३ वर्षको किस्ता तिरिसकिएको छ भने अझै १७ वर्षको किस्ता तिर्न बाँकी नै छ।

मोर्गरेज तिर्न नसकेर लिलाममा जान लागेको घर बेचेर केही पैसा निकाल्न सकिन्छ कि भन्ने आशले छोरीले रविसँग अधिकृत वारेसनामा मागेको बताइएको छ।