दिनभरी आफ्नै घरमा, साँझ र राती विदेशीहरुसँगको भेटघाट तिब्र

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली वि’रोधी मोर्चालाई बलियो बनाउन भेटघाट तिब्र बनाउनुभएको छ।

प्रचण्डले आफ्नो आलोचक रहनुभएका देवेन्द्र पोडेल र प्रभु शाहलाई आज आफ्नो निवासमा बोलाउनुभएको थियो । प्रचण्ड निवासमा प्रभु शाह बिहान करिब तीन घन्टा रहनुभएको स्रोतले बताएको छ।

प्रचण्डले आफ्नो निवासका साथै बानेश्वर स्थित अजेयराज सुमार्गीको निवासलाई पनि भेटघाटको केन्द्र बनाइरहनुभएको छ । स्रोत अनुसार दिनभरी प्रचण्डले आफ्नै निवासमा भेटघाट गर्ने गर्नुभएको छ भने साँझ र राती सुमार्गीको निवास प्रयोग गर्ने गर्नुभएको छ।

खासगरी विदेशीहरुसँगको भेटघाटका लागि प्रचण्डले सुमार्गीको निवास प्रयोग गर्ने गर्नुभएको जानकारी प्राप्त भएको छ । विदेशीहरुसँगको प्रचण्डको भेटका बेला नेपाली कांग्रेसका सांसद् अमरेश सिंह पनि रहने गर्नुभएको स्रोतले बताएको छ । प्रचण्डले सुमार्गीकै निवासमा डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, महेन्द्र राय लगायतसँग निरन्तर छलफल गर्ने गर्नुभएको छ।