भारतीय सेना प्रमुख आउनुअघि काठमाडौंमा सुरक्षा सतर्कता

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा प्रहरीले चकजाँच बढाएको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले नरभानेको भ्रमणको तयारी स्वरुप चेकजाँच र शंकास्पद क्षेत्रमा निगरानी बढाएको हो ।

रानीपोखरीका एक प्रहरी अधिकृतका अनुसार नेपाली सेना र नेपालस्थित भारतीय दूतावासका अधिकारीहरुको समन्वयमा सुरक्षा प्रबन्ध मिलाइएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले तिहारका लागि सुरक्षा योजना पनि कार्यान्वयनमै रहेका वेला हुन लागेको नरभानेको भ्रमणलाई लक्षित गरेर पनि सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

नेपाल र भारतका सेना प्रमुखबीच एकअर्काको देशमा मानार्थ महारथीको दर्ज्यानी चिन्ह दिएर सम्मान गर्ने पुरानै परम्परा हो । तर नरभानेले नेपाल–भारत सीमा विवादमा दिएको विवादास्पद अभिव्यक्तिका कारण उनलाई सुरक्षा चुनौति रहेको सुरक्षा निकायको विश्लेषण छ ।

नरभानेले दिल्लीको सुरक्षा तथा रणनीतिक मामिलाका थंक ट्यांक मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आईडीएसए) ले आयोजना गरेको कार्यक्रममा नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको बताएका थिए ।

यही अभिव्यक्तिका कारण उनलाई विभिन्न समूहले कालो झण्डा देखाउन सक्ने, कफन बाँधेर बस्ने, कालो कपडा देखाउने र भिड जम्मा भएर विरोध प्रदर्शन हुनसक्ने विश्लेषण नेपालस्थित भारतीय दुतावासको पनि छ । त्यसअनुसार प्रहरीले सम्भावित समूह र व्यक्तिमाथि निगरानी बढाएको छ । यो समाचार तयार पारुञ्जेलसम्म प्रहरीले कसैलाई नियन्त्रणमा लिइसकेको भने छैन ।

‘केही व्यक्ति जो पटकपटक भीआईपी आउने वित्तिकै यस्ता खाले क्रियाकलापमा संलग्न हुन्थे, उनीहरु हाम्रो निगरानीमा छन्’, एक वरिष्ठ अधिकृतले भने, ‘यसपटक नरभानेको भ्रमणको विरोध जनाउँदै अभिव्यक्ति दिएका व्यक्तिको गतिविधिलाई पनि नजिकबाट नियालिरहेका छौं ।’ आवश्यकता अनुसार उनीहरुलाई नियन्त्रणमा समेत लिइने प्रहरी अधिकृतहरुको भनाइ छ ।