‘हुम्लामा सीमा मिचिएको कुरा अनावश्यक हल्ला मात्र’ – चिनियाँ विदेश मन्त्रालय

काठमाडौं- नेपालको हुम्ला जिल्लाको नाम्खा क्षेत्रमा चीनले नेपाली भूभाग मिचेको कुरा अनावश्यक र हल्ला मात्र भएको चिनियाँ विदेश मन्त्रालयले दाबी गरेको छ।

मन्त्रालयका प्रवक्ता वाङ विइमिनले सञ्चारमाध्यममा आएका समाचार खारेज गर्दै यो चीनिया भूभागमै चीनले भवन निर्माण गरेको दाबी गरेका हुन्। यसअघि दुई पटकसम्म चिनियाँ पक्षले हुम्ला सीमानामा नेपाली भूमि नमिचेको दाबी गरिसकेको छ। तेस्रो पटक विदेश मन्त्रालयले नै धारणा सार्वजनिक गरेको हो।

चीनले हुम्लाको नाम्खामा पर्ने नेपाली भूभागमा ११ वटा अत्याधुनिक भवन बनाएको कुरा सार्वजनिक भएलगत्तै सीमा मिचिएको कुरा सार्वजनिक बताइएको थियो। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि नेपाली भूमि चिनियाँ पक्षबाट मिचिएको दाबी गरेको थियो। कांग्रेसको अध्ययन टोलीले गरेको स्थलगत अध्ययनपछि यस्तो आरोप लगाएको थियो।

यो कुरालाई चीनले खण्डन गर्दै यो पूर्णरुपमा हल्लामात्र भएको र यसमा विश्वास गर्ने आधार नभएको दाबी गरेका छन्। नेपालमा चीनले सीमा मिचेको विषय उठेपछि चिनियाँ अधिकारीहरुले दोस्रोपटक फिल्ड सर्भे र मापनको काम गरेका थिए। सो टोलीले भवन चीनको बुराङ गाउँमा नै पर्ने निष्कर्ष निकालेको थियो। चिनियाँ सरकारी अधिकारीहरुले सो गाउँमा व्यापार बढाउन बनाइरहेको र निर्माण गर्ने समयमा नेपाली अधिकारीहरुसँग कुनै पनि विवाद नभएको दाबी गरेका थिए।

चिनियाँ अधिकारीले पिल्लर नं ११ र १२ एकदमै उच्च भागमा रहेको र सर्भेको ज्ञान नभएका व्यक्तिले अध्ययन गर्न कठिन भएकाले यस्तो हल्ला भएको हुनसक्ने बताएका थिए। चिनियाँ अधिकारीले नेपाली सर्भे टिमले केही गल्ती गरेको हुन सक्ने बताएको छ। ११ नम्बर पिल्लर हराएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिको टोली खोज्न गएको थियो। उनीहरुले पिल्लर फेला पारेका थिए।

यसअघि नेपालको परराष्ट्र मन्त्रालय र चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले पनि चीनले नेपालको भूभाग नमिचेको दाबी गरेका थिए। तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने चीनले नेपाली भूभाग मिचेको दाबी गर्दै सरकारले झुट बोलेको आरोप लगाउदै आएको छ। नेपाल र चीनबीच सीमा विवाद समाधान भए पनि नेपाल र चीनले तीनवटा सीमाको संयुक्त अवलोकन गरेका र कुनै समस्या नपाइएको समेत चिनियाँ सरकारी अधिकारीको दाबी छ।