सशस्त्र प्रहरीले अब विद्यालय र अस्पताल बनाउने

सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीको सन्ततिको गुणस्तरीय शिक्षाका लागि प्रदेश स्तरमा विद्यालयहरूको स्थापना र कर्मचारीको स्वास्थ्य उपचारका लागि अस्पताल स्थापना सुरु गरेको छ ।

गण्डकी प्रदेशका विभिन्न इकाइहरूको निरीक्षणका क्रममा सातै प्रदेशमा विद्यालय र अस्पताल निर्माण गरिने सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बताएका छन् । खनालले नम्बर ४ मुक्तिनाथ बाहिनी पोखरा, नम्बर २३ मनकामना गण तनहुँ, नम्बर २४ कालिका गण पोखरा, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखरा तथा स्याङ्जा गुल्मसमेतको निरीक्षण गरेका हुन् ।

निरीक्षणको क्रममा उनले उच्च अनुशासन र इमान्दारिताका साथ राज्यले दिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिए । एक कर्मचारीको गल्तीले सिंगो संगठन बदनाम हुने भन्दै उनले संगठनको आदेश र निर्देशनको पूर्ण पालना गर्न निर्देशन दिएका थिए ।
निरीक्षणका क्रममा उनले आइसोलेसन र क्वारेन्टिनमा रहेका कर्मचारीलाई समेत भेटेर नआत्तिन र आफ्ना कर्मचारीको स्वास्थ्य उपचारका लागि संगठनले सक्दो कार्य गर्ने बताए ।