रोनाल्डो र मेस्सीलाई पछि पार्दै भिर्गिलले जिते वर्षकै उत्कृष्ट खेलाडीको अवार्ड

काठमाडौं। च्याम्पियन्स लिग साविक विजेता लिभरपुलका डच डिफेन्डर भिर्गिल भान डाइकले यस वर्षको यूईएफए वर्ष खेलाडीको अवार्ड जितेका छन् । गत सिजन भान डाइकले लिभरपुलका लागि च्याम्पियन्स लिगको उपाधि दिलाउन रक्षापंक्तिमा निर्णायक प्रदर्शन गरेका थिए ।

नेदरल्याण्ड्सलाई यूईएफए नेसन्स लिगको उपविजेता बनाउन पनि उनको योगदान उत्कृष्ट थियो । लिभरपुल गत सिजन प्रिमियर लिगमा पनि दोस्रो भएको थियो । युरोपको उत्कृष्ट डिफेन्डर पनि चुनिएका भान डाइकले विश्व फुटबलकै दुई महान खेलाडीहरु लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका हुन् ।

रोनाल्डोले इटलीयन सिरी एमा युभेन्टसलाई दुई महत्वपूर्ण उपाधि दिलाएका थिए भने पोर्चुगललाई युईएफए नेशन्स लिगको उपाधि दिलाउन पनि निर्णायक भूमिका खेलेका थिए । लियोनल मेस्सीको कप्तानी बार्सिलोनाले ला लिगाको उपाधि उचालेको थियो ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित बार्सिलोनाका लागि मेस्सीले सर्बाधिक गोल गरेका थिए । महिलातर्फ इंग्लिस स्ट्राइकर लुसी ब्रोन्जले महिलातर्फ युईएफए उत्कृष्ट महिला वर्ष खेलाडीको पुरस्कार जितिन् ।