खसी किनेको पैसा नदिएको निहुँमा कुटाकुट, ४ जना घाइते

रुपन्देहीको मर्चवारी गाउँपालिकामा खसी किनबेचको विषयमा स्थानीयबीच कुटाकुट हुँदा ४ जना घाइते भएका छन्।

मर्चवारी गाउँपालिका १ सोनवर्षा चोकमा खसी किनेको १ महिनासम्म पनि रकम नदिएका कारण शुरु भएको विवादले उग्र रुप लिएको थियो।

सोही विषयलाई लिएर भएको विवादले उग्र रुप लिएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए।

उनका अनुसार बेलुका ७ बजेपछि स्थानीयबीच भएको कुटाकुटका क्रममा ४ वटा मोटरसाइकल र ५ वटा साइकलमा आजगनी र तोडफोड भएको छ। घाइते भएका ४ जनालाई उपचारका लागि भैरहवा ल्याइएको छ।

अहिले सो स्थानमा बाक्लो संख्यामा प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिइसकेको प्रमुख भण्डारीले बताए।