‘सरकारलाई भनिदिनुस्,पैसा नतिरेसम्म मृतकका आफन्तलाई श’व दिनेवाला छैनौँ’-मेडिकल कलेज

तीन दिन भयो, उनको श’व विराट मेडिकल कलेजमा थन्किएको छ। कोरोना भाइरसको संक्रमणका कारण उनले शनिबार बिहान भेन्टिलेटरमा अन्तिम श्वास फेरेका थिए।

विराटनगरका ६५ वर्षीय पुरुषको शरीरबाट आत्मा छुटियो। आत्मा छुट्टिए पनि उनको शरीरले बिदा पाउन सकेको छैन। निस्लठ्ठ लडिरहेको छ, अस्पतालको एक छेउमा।

संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कात्तिक ६ गते परिवारले विराट मेडिकल कलेज पुर्‍याएको थियो। उनको स्वास्थ्य स्थिति गम्भीर भएका कारण तत्काल भेन्टिलेटरमा भर्ना गर्नुपर्ने अस्पतालले बतायो। तर, भेन्टिलेटरमा राख्नुभन्दा अगाडि अस्पतालले उनको परिवारलाई भन्यो, ‘भेन्टिलेटरमा पुगेर फर्किने बिरामीको संख्या निकै कम छ।’

‘सास छउन्जेल आश’ नै हुन्छ ! परिवार उनलाई भेन्टिलेटरमा राख्न सहमत भयो। र, उनलाई भर्ना गरियो विराट मेडिकल कलेजको भेन्टिलेटरमा। अस्पतालले भनेअनुसार गर्न परिवारले कुनै कसर बाँकी राखेनन्। उनी कोरोना भाइरसलाई पराजय गरेर घर फर्किन्छन् भन्ने अपेक्षा राख्दै उनको परिवारले अस्पतालमा एक लाख रुपैयाँ धरौटी राख्यो। अस्पतालले भनेको थियो, ‘भेन्टिलेटरमा राख्न अस्पतालमा एक लाख रुपैयाँ धरौटी बुझाउनु पर्छ।’

उनको उपचार भइरहेको थियो। भित्र उनी छट्पटाइरहन्थे। परिवार बाहिर छट्पटाइरहेन्थ्यो। तर यी दुईका छटपटी विल्कुल फरक थिए।

उनी निको होलान् र भेन्टिलेटरबाट बाहिर निस्केलान् भन्ने आशा परिवारको थियो। त्यही बिचमा अस्पतालले उनीहरुरसँग उपचार खर्च भन्दै पैसा मागिरह्यो। तर उनीहरुसँग पैसा सकिँदो थियो।

विस्तारै खल्ती रित्तियो। ‘जुगाड गरौँला’ भनेर हुन्छ, हुन्छ भन्दै टारिरहे।

यो क्रम उनी अस्पताल भर्ना भएको ९ दिन पछि टुङ्गियो।

भेन्टिलेरमा राखेको ९ दिनपछि उनको मृ’त्यु भयो।

अहिले उनीहरु अस्पतालसँग श’व मागिरहेका छन्। तर अस्पताल बाँकी रकम नबुझाउँदासम्म श’व नदिने अडान लिइरहेको छ। अस्पताललाई दिन उनको परिवारसँग पैसा छैन।

‘बुवा स्कुलको सवारी चालक हुनु हुन्थ्यो। एउटा चालकसँग कहाँ हुन्छ त्यत्रो पैसा?’ उनकी छोरीले भनिन्। अस्पतालले अझै ३ लाख ८३ हजार ९ सय ३५ रुपैयाँ मागिरहेको छ। अस्पतालको जवाफ पाउँछ- हामीले १ लाख ३५ हजार रुपैयाँ छुट दिएका छौँ।

अस्पतालले भने बिरामीको ४ लाख ५० हजार रुपैयाँ ‘बिल उठेको’ बताएको छ। अस्पतालका प्रशासन प्रमुख सुधिरसिंह राठोरले अस्पतालले एक लाख ३५ हजार छुट दिइसकेपछि पनि मृतकका आफन्त पैसा तिर्न अटेरी गरिरहेको बताउँछन्।

‘उहाँको उपचार खर्च ४ लाख ५० हजार रुपैयाँ लागेको छ। धरौटी एक लाख र हामीले छुट गरेको एक लाख ३५ हजार बाहेक उहाँहरुले अस्पताललाई अब २ लाख १५ हजार तिर्न बाँकी नै छ’, उनले भने,‘अस्पतालले पनि डाक्टर, नर्सलाई तलब दिनु पर्छ। सरकारले निशुल्क गरिरहेका बेला हामीले बिरामीबाट शुल्क उठाएका थिएनौँ। सरकारले सक्दिनौँ भनेपनि हामीले पनि त शुल्क उठाउनु पर्‍यो नि।’

सरकारले कोरोना भाइरस संक्रमितको उपचार खर्च उठाउनु भन्दै अस्पताललाई कात्तिक ३ गते परिपत्र गरेपछि अहिले अस्पतालहरुले बिरामीबाट उपचार शुल्क उठाउन थालेका छन्।

यही सिलसिलामा मेडिकल कलेजले बिरामीको उपचारका क्रममा लागेको खर्च भुक्तानी गर्न दबाव दिएको हो।

सरकारले अस्पताललाई परिपत्रमा विपन्न/गरिब परिचयपत्र वा सम्बन्धित पालिकाको सिफारिस पत्र भएका व्यक्ति, जेष्ठ नागरिक (७० वर्षभन्दा बढी) नागरिकता परिचयपत्र भएको, अति अपाङ्गता परिचपत्र भएको, अशक्तताको प्रमाणपत्र भएको, एकल महिलाको परिचयपत्र भएका व्यक्तिलाई उपचार शुल्कमा केही प्रतिशत छुट वा निशुल्क गर्न उल्लेख गरेका छ।

वडा कार्यलयबाट आफूहरुले विपन्नको सिफारिस लिएर बुझाउँदा पनि अस्पतालले उक्त सिफारिसले नहुने भन्दै पैसा नै बुझाउनु पर्ने बताएको उनी छोरीले गुनासो गरिन्।

‘हामीसँग तिर्नका लागि पैसा नै छैन। धरौटीसहित बुवाको उपचारका लागि अढाइ लाख रुपैयाँ खर्च भइसकेको छ। धेरै भन्यौँ तर केही उपाय लागेको छैन’, उनले भनिन्, ‘अब हामीले बुवाको अन्त्येष्टि गर्न नपाउने?’