जहाँ पैसा नतिरेसम्म साँघु तर्न पाइन्‍न !

कैलाली — कैलारी गाउँका प्रेमबहादुर चौधरी कामका लागि भजनी नगरपालिकाको कार्यालय पुग्ने हतारोमा थिए । उनी कान्द्रा नदीको कर्मदेवघाटमा निर्मित साँघुको छेवैमा पुगे । त्यहाँ छाप्रामा बसेका स्थानीयले रोकेर २० रुपैयाँ मागेपछि उनी अक्क न बक्क भए ।

‘केको पैसा चाहियो’ भन्ने उनको प्रश्नमा त्यहाँ उभिएका युवाबाट ‘साँघु तरेको पैसा लाग्छ’ भन्ने जवाफ पाए । समयमै नगरपालिका पुग्नुपर्ने भएकाले पाइन्टको वरिपरिका दुवै खल्ती छामे तर केही फेला परेन । पैसा उठाउने युवकले भने, ‘पैसा नभए त साँघु तर्न पाइन्न ।’ केहीबेर कुरा गरेपछि फर्किएर तिर्ने सर्तमा मात्रै उनले साँघु तर्ने अनुमति पाए ।

कर्मदेवघाटको साँघुमा साइकल तारेको १०, मोटरसाइकल तारेको २० र अटो तारेको एक सय रुपैयाँ ठेकेदारले असुल्ने गरेको स्थानीयले बताए । ‘हामीले नगरपालिकासँग वर्षको साढे तीन लाखमा ठेक्का लिएका छौं, त्यही रकम असुल्न पनि यसरी पैसा लिनुपर्ने हुन्छ,’ ठेकेदार बमबहादुर साउदले भने । कर्मदेवसहित भजनी नगरपालिका क्षेत्रको कान्द्रा नदीको ५ ठाउँमा यसैगरी स्थानीयले डुंगा र साँघु तरेको पैसा तिर्नुपर्ने बाध्यता छ ।

पुल नभएकाले नगरपालिका कार्यालयले नै वर्षातको समयमा स्थानीय ठेकेदारलाई डुंगाबाट नदी तार्ने ठेक्का दिएको छ । कर्मदेवघाट, बिजुलिया–पचमुडिया, लालबोझी, मिलनपुर, पहलवान गरी पाँच ठाउँमा नदी तार्न ठेक्का लगाइएको वडा नम्बर ५ का अध्यक्ष केशवबहादुर बुढाले बताए । ‘भजनी र अन्य गाउँबाट कान्द्रा नदी ओहोरदोहोर गर्नेलाई सास्ती छ,’ वडाध्यक्ष बुढाले भने, ‘पक्की पुल बन्ने ठेगान छैन । ठेकेदारले आफ्नो मर्जीले रकम असुल गरिरहेका छन् ।’

विद्यार्थीलाई भने निःशुल्क गरिएको उनको भनाइ छ । शिक्षकहरूले एकमुष्ठ रूपमा विद्यालयबाट तिराउने गरेको पचमुढियाका एक शिक्षकले बताए । नगरपालिकाले डुंगा चलाएर नदी तार्न ठेक्का दिएको भए पनि ठेकेदार आफैँले काठेसाँघु बनाएकाले रकम असुलेको नगरपालिका उपप्रमुख छाया देवकोटाले बताइन् । ‘नगरपालिका आफैँले साँघु बनाउन सक्ने भए पनि संरक्षण नहुने भएकाले ठेक्का दिइएको हो,’ उनले भनिन् ।

कैलालीको मलवार क्षेत्रतिर बग्ने मुख्य नदी हो कान्द्रा । यही नदीले हरेक वर्षामा डुबान गरेर सयौं परिवारको बिचल्ली गराउँदै आएको छ । भजनी क्षेत्रमा बग्ने कान्द्रा नदीमा पक्की पुल छैन । ‘हामीलाई त यो नदीले लास्टै दुःख दिएको छ, बर्खामा चारैतिर डुबान भएर धनजनको क्षति हुन्छ । त्यसबेला लगभग आवागमन पूरै ठप्प हुन्छ, हिउँदमा पनि साँघु तर्न दैनिक खर्च लाग्छ,’ स्थानीय खुसीराम चौधरीले दुखेसो पोखे ।

९ वर्षदेखि पुल अधुरै

पक्की पुल नभएकै कारण स्थानीय बासिन्दा बर्खामा डुंगामा र हिउँदमा काठेसाँघुबाट तर्न पैसा तिर्नुपर्ने बाध्यतामा छन् । कान्द्रा नदीमा पुल निर्माणको ठेक्का सम्झौता भएको नौ वर्ष बित्न थाल्यो तर काम भने अगाडि बढेको छैन ।

हुलाकी सडक खण्डमा लालबोझी र भजनी जोड्न पुल निर्माण गर्न २०६८ असारमा लामा शाल्पा शेर्पा बिरुवा जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । ४ करोड लागतमा उक्त पुल साढे २ वर्षभित्र तयार गर्नुपर्ने सम्झौता थियो । लामो समयसम्म काम नभएपछि २०७५ असारपछि ठेक्का तोड्ने तयारी गर्दैगर्दा कानुनी रूपमा एक वर्षको म्याद थप भएको हुलाकी सडकका इन्जिनियर पदमबहादुर मडैंले बताए ।

‘अहिलेसम्म ५५ प्रतिशत काम मात्र भएको छ,’ उनले भने, ‘निर्माण कम्पनीले चालु आर्थिक वर्षभित्र काम पूरा गरिसक्ने प्रतिबद्धता गरेको छ ।’ पक्की पुल नभएकाले कैलालीको दक्षिण क्षेत्रका बासिन्दा सदरमुकाम धनगढीसँग सिधा जोडिन सकेका छैनन् । हाल स्थानीय बासिन्दाले २५ किलोमिटर उत्तर राजमार्ग भएर धनगढी सदरमुकाम पुग्नुपर्ने अवस्था छ ।