बो’क्सीको आरोपमा आफ्नै छोराद्वारा कुटिएकी आमाको मृ’त्यु

बोक्सीको आरोपमा आफ्नै छोराद्वारा निर्घात कुटिएकी ९० वर्षीया सुदामादेवी साह सोनारको मृ’त्यु भएको छ । दसैँको अर्को दिन सिराहाको कर्जन्हा नगरपालिका– ३ की ९० वर्षीया सोनारलाई आफ्नै छोराले बोक्सीको आरोपमा कुटपिट गरेर मलमूत्र खुवाउने प्रयास गरेका थिए ।

छोराको कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई सुरुमा उपचारका लागि जनकपुर लगिएको थियो । कुटपिटबाट उनको घाँटी थिचिएको र घाँटीको हड्डी मोडिएकोले ९० वर्षको उमेरमा हड्डीको सुधार हुँदैन भन्दै अस्पतालले डिस्चार्ज गरिदिएको थियो । वृद्धाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि थप उपचारका लागि उनलाई सिराहा अस्पताल पुर्‍याएलगत्तै शनिबार मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

सिराहा प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार आमालाई कुटपिट गर्ने कान्छो छोरा रामअवतार साहलाई पक्राउ गरी थप अनुसन्धान थालिएको छ । साहलाई मिर्चैया प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।

मृ’तक वृद्धाको श’व सिराहा अस्पतालको शवगृहमा राखिएको र आइतबार पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादवले बताए ।

मेसु डा. यादवका अनुसार वृद्धाको स्वास्थ्य अवस्था नाजुक भएको प्रहरीमार्फत थाहा पाएपछि सिराहा अस्पताल ल्याउन भनिएको थियो । ‘अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउन नपाउँदै उहाँकाे गेटमै मृत्यु भइसकेछ,’ डा. यादवले भने, ‘वृद्ध उमेर, कुटपिटबाट घाँटीको हड्डी भाँचिएको कारणले मृ’त्यु भएको अनुमान गरिएको छ, यद्यपि पोस्टमार्टम गरेर त्यसको रिपोर्ट आएपछि मात्र यकिन भन्न सकिन्छ ।’