टेकु अस्पतालमा तोकियो कोरोना संक्रमितको उपचारमा चर्को शुल्क;धरौटी पनि राख्नुपर्ने

टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई गरिब, असहायको उपचार केन्द्रका रुपमा चिनिन्छ। यहाँ सामान्य अवस्थामा गरिब, असहाय र विपन्‍नले बेडसहित सरुवा रोगहरुको नि:शुल्क उपचार पाउँछन्।

गरिब, विपन्न र असहायको अस्पतालका रुपमा परिचित नेपालकै एक मात्र यो अस्पतालमा पनि अबदेखि कोरोना संक्रमितले उपचार गराउँदा महँगो शुल्क तिर्नुपर्ने बाध्यता भएको छ।

केन्द्रीय सरुवा रोग अस्पतालका रुपमा परिचित यहाँ पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा शुल्क लिन पटक पटक दबाब दिएको खुलेको छ। मन्त्रालयले दबाब दिएपछि अस्पताल प्रशासनले बिहीबारदेखि लागू हुने गरी कोरोना संक्रमितको उपचारमा शुल्क तोकेको छ।

यो अस्पतालमा नेपालकै पहिलो र दोस्रो कोरोना संक्रमितको उपचार भएको थियो। कोरोना प्रारम्भिक चरणमा रहेका बेला यही अस्पतालमा संक्रमितहरु उपचारका लागि भर्ना हुन्थे। र, अस्पतालले उनीहरुको उपचार पूरै नि:शुल्क गरेको थियो।

मन्त्रालयको पटक पटकको दबाब थेग्न नसकेपछि अस्पतालले कोरोना संक्रमितको उपचार शुल्क लिएर मात्रै गर्ने निर्णय गरेको छ। अस्पतालका प्रशासन प्रमुख रुपनारायण खतिवडाले यस निर्णयको पुष्टि गरेका छन्।

३ हजार ५ सय रुपैयाँ तिरे पुग्‍ने क्याबिनमा मन्त्रालयको दबाबमा ७ हजार ५ सय रुपैयाँ तोकिएको छ। मन्त्रालयको दबाबपछि अस्पतालले जटिल किसिमका कोरोनाका बिरामीलाई भेन्टिलेटरसहितको आइसियुमा राख्‍न दैनिक १५ हजार शुल्क तोकेको छ भने धरौटी ५० हजार राख्नुपर्ने भएको छ।

अर्कातिर भेन्टिलेटरबिनाको आइसियुमा बिरामी राख्‍न अस्पताल प्रशासनले दैनिक शुल्क ७ हजार ५ सय तोकेको छ भने धरौटी ३ हजार कायम गरिएको छ। मध्य जटिल संक्रमितलाई क्याबिन आइसोलेसनमा राख्‍न मात्रै दैनिक ७ हजार ५ सय तिर्ने नयाँ व्यवस्था गरिएको छ भने धरौटी पनि ३० हजार नै कायम गरिएको छ।

अर्का मध्यम जटिल संक्रमितलाई ग्यास्ट्रो आइसोलेसनमा राख्‍न दैनिक शुल्क ३ हजार ५ सय तोकिएको छ भने धरौटी २० हजार कायम गरिएको छ।