उपत्यका बासीलाई मेलम्चिको पानी आकाशको फल आखाँ तरि मर : धकेलियो २०७८ सम्म

सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं ल्याउने भाका दर्जनौ पटक राख्यो तर आज सम्म उपत्यका बासीलाई ‘मेलम्चिको पानी,आकाशको फल आखाँ तरि मर’ भनेझै भएको छ । तर हरेक पटक फेरिने सरकारले आयोजनालाई, यो समयसम्ममा ल्याउछौं भनेर भाका राख्न भने छाडेका छैनन्।

नेकपाको सरकार गठन भएयता मात्र मेलम्चीको पानी काठमाडौं उपत्यका ल्याउने भन्दै तेस्रो पटक समय निर्धारण गरेको छ । उस्को यो लगभग ३ बर्षको अवधिमा राखिएको तेस्रो पटकको भाका हो। सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको काम सक्नका लागि फेरि नयाँ कार्यतालिका बनाएको छ । काम भयो भने सन् २०२१ अप्रिल १५ सम्म आयोजनाको काम सकिने छ । अर्थात् आगामी २०७८ वैशाख २ गतेसम्म आयोजनाको निर्माणको सबै काम सकाउने योजना सरकारको छ।

मेलम्ची आयोजनाको म्याद पटक-पटक थपिनु र यसको निर्माण सकिने भाका पर सर्नु नौलो विषय हैन । यसपटक पनि दशैंसम्म कठमाडौंबासीलाई पानी खुवाउने सरकारको बाचा पुरा भएन। खानेपानीमन्त्री बिना मगरले गत फागुन १ गते पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गरेर भनेकी थिइन्, मेलम्चीको पानी २०७७ असार मसान्तसम्म काठमाडौंमा आइपुग्छ।’

तर, यो आयोजनालाई पनि कोभिड-१९ को कारण देखाएर पछि धकेलियो । २९ असारमा परीक्षणका लागि सुरुङमा पानी भर्न सुरु गरेको २४ घण्टा नबित्दै अम्बाथानको अडिट टनेलको गेट भत्किएपछि आयोजना अर्को समस्यामा फस्यो । अहिले अडिट टनेलका गेटलाई सुधार गरेर जोड्ने काम हुँदैछ। आयोजनाका सहायक प्रवक्ता राजेन्द्र पन्तका अनुसार महामारीका कारण असर परे पनि काम रोकिएको थिएन । तर, सुरुङमा पानी भर्न सुरु गरेपछि भएको दुर्घटनाले आयोजनालाई फेरि समस्यामा पारेको छ।

आयोजनाका सहायक प्रवक्ता पन्तका अनुसार अहिले सबै खालका मेडिकल प्रोटोकल पालना गरेर अडिट टनेललाई थुन्ने सहित हेडवर्क्स निर्माण गर्ने काम भइरहेको छ। ०६४ सालमै सक्ने गरी थालिएको मेलम्चीको म्याद पटक-पटक थपिँदै आएको छ । ०७५ पुसमा काम छाडेर इटालियन कम्पनी सीएमसी भागेपछि आयोजना ९ महिना रोकिएर अहिले नयाँ ठेकेदारमार्फत काम भइरहेको छ।

आयोजनाको मुहानमा बन्ने हेडवर्क्स निर्माणको काम अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोमार्फत भइरहेको छ । यो आयोजना पनि कोरोनाकै कारण देखाएर अनिश्चयको भुमरीमा धकेलिएको छ।