‘विदेश भन्नु मात्रै हो रैछ , पैसा त नेपालमै कमाइने रहेछ’

घर वरिपरि चरिरहेका कुखुरा । आँगनमा बाँधेका बाख्रा । बाख्रालाई घाँस खुवाउँदै सोनिया कुमाल । नवलपरासी जिल्ला, मध्यविन्दु नगरपालिका – १५ की सोनियाको दैनिकी अचेल घरमा कुखुरा र बाख्रा स्याहार्नमै बित्छ ।

न आम्दानीको स्रोत थियो, न त रोजगारीको बाटो नै । केही काम नगरेर बस्न निकै गाह्रो भयो । बेरोजगारीले थलिएपछि सोनियालाई केही उद्यम गर्नुपर्छ भन्ने लाग्यो । अनि गाउँमै सञ्चालित वित्तीय साक्षरता कक्षामा सहभागी हुनुभयो । त्यहीँबाट सोनियाको सोच परिवर्तन भयो । उद्यम गर्नको लागि सुझाव सल्लाह तथा सहयोग पाउनुभयो । अनि सुरु गर्नुभयो कुखुरा र बाख्रा पालन ।

उद्यममा व्यस्त सोनिया

अहिले सोनिया सानोतिनै भए पनि आफ्नो उद्यममा व्यस्त हुनुहुन्छ । नजिकैको गाउँबाट केही स्थानीय जातका कुखुराका चल्लाहरु र ४ वटा उन्नत जातको बाख्रा ल्याएर गएको चैत महिनादेखि नै उहाँले व्यवसाय सुरु गर्नुभएको हो ।

पाँच छ महिनाकै अन्तरालमा उहाँले कुखुराको अण्डा र कुखुरा बेचेर राम्रो आम्दानी गरिरहनुहभएको छ ।

श्रीमानकाे पनि साथ

स्वदेशमा आम्दानीको बाटो नदेखेर परदेश जानुभएका सोनियाका श्रीमान् अहिले सोनियासँगै काममा व्यस्त देखिनुहुन्छ । कोरोना महामारीले गर्दा विदेशमा रोजगारी गुमाएर गएको असारमा नेपाल फर्किएपछि अहिले उहाँ श्रीमतीलाई काममा सघाइरहनुभएको छ ।

जिविका निर्वाहकै लागि भनेर परदेशीएका सोनियाका श्रीमान श्रीमतीले यहाँ सुरु गरेको व्यवसाय, त्यसप्रतिको लगाव, मेहेनत र आम्दानी देखेर निकै खुशी हुनुहुन्छ ।

उहाँ वित्तीय साक्षरता कक्षालाई धन्यवाद व्यक्त गर्दै भन्नुहुन्छ, ‘वित्तीय साक्षरता कक्षाले गर्दा स्वदेशमै उद्यम गर्न सिकियो ।’

सोनियाका श्रीमानले अब फेरि वैदेशिक रोजगारीमा नजाने निर्णय गरिसक्नुभएको छ । अहिले उहाँहरुले घर नजिकै रहेको अरुको ५ कठ्ठा बाँझो जग्गामा समेत खेती गर्नुभएको छ । अब छिट्टै दुवै जना मिलेर व्यवसायिक बाख्रा पालन गर्ने सोच भएको उहाँहरुले बताउनुभयो ।

वित्तीय कक्षाले सोनियालाई नयाँ पाठ सिकाएको छ । इच्छाशक्ति भएपछि कम लगानीमा पनि व्यवसाय गर्न सकिने उहाँको बुझाइ छ । यही कुरा आफ्ना श्रीमान्लाई बुझाइसक्नुभएको छ सोनियाले ।

‘केही कामको सुरुवात गर्नका लागि ठूलो रकम होइन इच्छा शक्ति चाहिने रहेछ’, उहाँका श्रीमान्ले खुसी हुँदै भन्नुभयो, ‘विदेश भन्नु मात्रै हो, पैसा त नेपालमा नै कमाइने रहेछ ।’