विश्वबाटै नेपाल हराउने हो कि भन्ने चिन्तामा छन् डा. बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले शक्तिराष्ट्रका प्रतिनिधिको नेपाल भ्रमणलाई लिएर विवाद गर्नुको कुनै तुक नहुने बताएका छन् । उनले घुमाउरो पाराले भारतका गुप्तचर प्रमुख सामन्त गोयल र भारतीय सेनाध्यक्ष मुकुन्द नरभाणेको आगामी दिनमा हुन लागेको नेपाल भ्रमणको स्वागत गरेका छन् ।

बाबुराम भन्छन्,

‘तपाईंको घरमा मुसो र भिखारी पनि आएन भने आफ्नो हैसियत बुझ्नूस् ।’ उनको यो आशय विभिन्न देशबाट हुने राजनीतिक वा अन्य भ्रमण जायज छ । उनले शक्तिराष्ट्रबाट भ्रमण नहुने हो भने नेपाल विश्वक्षेत्रीय सामरिक राडारबाटै हराउने हो कि भन्ने बताएका छन् ।

कोरोना संक्रमण भएर घरमै आइसोलेसनमा बसेका बेला बिहीबार बिहान सामाजिक सञ्जालमा बाबुरामले लेखेका छन्, ‘अहिले देशमा को आयो र गयो भनेर रोइलो चलिरहेको वेला मचाहिं हाम्रो देश विश्वक्षेत्रीय सामरिक राडारबाटै हराउने हो कि भन्ने चिन्तामा पो छु । हाम्रो आँगन जत्रो माल्दीभ्स र रूआण्डामा शक्तिराष्ट्रका नेता ओइरिने, तर हामीकहॉ खै, तपाईंको घरमा मुसो र भिखारी पनि आएन भने आफ्नो हैसियत बुझ्नूस् ।’