‘रअ’ प्रमुख भेटबारे संग्रौलालाई बाबुरामको जवाफ- कान नछामी कागको पछि दौडिने देशमा… 

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले ‘रअ’ प्रमुख सामन्त गोयलसँग भेटेको भनेर भएको चर्चाको प्रतिवाद गरेका छन्।

भारतीय सञ्चार माध्यमले गोयलले भट्टराईलाई पनि भेटेको भनेर लेखेपछि सामाजिक सञ्जालमा यस विषयमा चलेको थियो।
लेखक खगेन्द्र संग्रौलाले बुधबार ट्वीटरमा ‘रअ’ प्रमुख सामन्तले बाबुरामको शरीरमा कोरोना भाइरस सल्काएको टिप्पणी गरेका छन्।

संग्रौलालाई जवाफ दिँदै डा भट्टराईले लेखेका छन्- खगेन्द्र संग्रौलाजस्ता बौद्धिक व्यक्ति समेत आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरूबाट सत्य/न्याय, बुद्धि/विवेकको के अपेक्षा गर्नु? ‘खगेन्द्र संग्रौलाजस्ता बौद्धिक व्यक्ति समेत आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरूबाट सत्य/न्याय, बुद्धि/विवेकको के अपेक्षा गर्नु?’

भटराईले लेखेका छन्, ‘भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश! बीपी र पीएललाई बाँचुञ्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश! अनि हामी पछि नपरे को त?’
ज्योति मल्होत्राको गोयलले डा भट्टराईलाई पनि भेटेको प्रसंग सहितको विश्लेषण ‘द प्रिन्ट’मा प्रकाशित भएपछि त्यसलाई सामाजिक सञ्जालमा सेयर भएको थियो।

कात्तिक ५ गते काठमाडौं आएका रअ प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका थिए। अन्य नेतासँगको भेट भएको आशंका गरिए पनि औपचारिक पुष्टि भएको छैन। सञ्चार माध्यममा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल तथा शेरबहादुर देउवासँग भेट भएको सार्वजनिक भए पनि उनीहरुले त्यसको खण्डन गरेका थिए।