भारतीय सेनाध्यक्षको भ्रमण तालिका नेपाली सेनाले गर्‍यो सार्वजनिक

काठमाडौं–प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणमा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे यही कात्तिक १९ गते ४ सदस्यीय भ्रमण टोलीका लागि नेपाल आउने भएका छन्। सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गर्दै भारतीय सेनाध्यक्षको नेपाल भ्रमणबारे जानकारी दिएको हो।

कात्तिक २१ गतेसम्म हुने तीन दिने भ्रमणका क्रममा नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगीअड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी थापासँग छलफललगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ।

नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन्। यस्तै उनले प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।