राजा अल्बर्टले राजकुमारीलाई बल्ल दिए छोरीको नाता

ब्रसेल्स : बेल्जियमकी ‘गोप्य राजकुमारी’ले आफ्ना बाबु पूर्वराजा अल्बर्टलाई पहिलो पटक भेट गरेकी छन् ।

राजा अल्बर्टबाट लामो समय छोरीको रुपमा अस्वीकार गरिएकी डल्फिनले अदालतले बाबु–छोरीको कानुनी अधिकार दिएपछि यही मंगलबार बाबुलाई भेटेकी हुन् । ब्रसेल्सस्थित अल्बर्टले रानी पाओलासँगै छोरीसँग भेट गरेको तस्बिर समेत अहिले निकै चर्चामा छ । उक्त तस्बिर सँगै उनीहरुले नयाँ सम्बन्धको घोषणा गरेका छन् ।

५२ वर्षीया डल्फिन एक कलाकार समेत हुन् । जो राजा अल्बर्टकी प्रेमिकाको कोखबाट जन्मिएकी छोरी हुन् । प्रेमिकासँग सम्बन्ध अगाडि बढ्न नसकेपछि राजा अल्बर्टले आफ्नी छोरीलाई समेत अस्वीकार गर्दैआएका थिए । तर लामो कानुनी लडाइँमा डल्फिनले जितेपछि बल्ल अल्बर्टले छोरीको रुपमा स्वीकार गरे । ‘अक्टोबर २५ को आइतबार, नयाँ अध्याय खुल्यो । जुन भावना, समझदारी र आशा समेतले भरिएको,’ राजपरिवारले भनेको छ ।

बाबुबाटै सम्बन्ध अस्वीकृत भएपछि डल्फिनले गत वर्ष आफ्नो डिएनए टेस्ट समेत गराएकी थिइन् । अक्टोबर १ मा अदालतले उनको पक्षमा फैसला गरिदिएको हो ।