यस दसैँमा सुनसान बन्यो पाथीभरा

ताप्लेजुङमा रहेको प्रख्यात देवीको शक्तिपीठ पाथीभरा यस वर्षको दसैँमा पनि सुनसान बन्न पुग्यो ।

कोरोना भाइरसको महामारीका कारण मन्दिर दर्शनका लागि भक्तालुहरू आउन अनुमति नभएपछि दसैँका वेला पनि मन्दिर सुनसान बनेको हो ।

विगतका दसैँको नौरथामा दैनिक पाँच हजारदेखि १५ हजारसम्म भक्तजन आउने गर्दथे, तर यो वर्ष भक्तजनको आवतजावत शून्य नै रहेको छ ।

खासगरी दसैँका वेलामा विशेष पूजाका लागि भक्तजन आउने गर्दछन् ।

मन्दिर दर्शनका साथै प्रकृतिसँग खेल्न, मजा लिन पनि आन्तरिक पर्यटक यहाँ आउने गर्छन् ।

पाथीभराबाट देखिने नेपालको दोस्रो तथा विश्वको तेस्राे अग्लो हिमाल कञ्जनजंघा, कुम्भकर्ण आँखाका अगाडि हातले छोइलाजस्तो आभाष यहाँ आउनेहरूलाई हुने गर्दछ ।

दसैँका वेला भक्तजनको ठूलो उपस्थिति हुने र यसरी भिड हुँदा अहिलेको अवस्थामा कोरोना संक्रमणको फैलावट बढ्ने डरका कारण मन्दिरमा नित्य पूजाबाहेक दर्शन, अवलोकन र भ्रमण रोक लगाइएका कारण सर्वसाधारण मन्दिरमा आउन नपाएको मन्दिरका पुजारी डिल्ली आचार्यले बताए ।

पाथीभरामा नेपालबाट मात्र नभई भारतको सिक्किम, दार्जिलिङ, आसाम, गान्तोक र बंगालका नागरिकसमेत दर्शनका लागि आउने गर्छन् ।