मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् । १ वर्षमा १ हजार उडान हुनेछन् र २०५० सम्म मंगल ग्रहमा १० लाख मानिस पुग्नेछन् । मंगल ग्रहमा बस्ती बसाउने महत्वाकांक्षी योजनामा काम गरिरहेको कम्पनी स्पेसएक्सले यस्तो योजना सार्वजनिक गरेको हो ।

अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले झण्डै २ दशकदेखि मंगल ग्रहमा मानिस लैजाने परियोजनामा काम गरिरहेको छ । पछिल्लो जानकारी कम्पनीकी सीओओ गिन्नी शटवेलले टाइम म्यागजिनसँगको कुराकानीका क्रममा बताएकी हुन् । शटवेलका अनुसार कम्पनीले मंगल ग्रहमा इन्टरनेटको सुविधाको लागि काम गरिरहेको छ र यसको लागि अहिले स्टारलिंकका स्याटेलाइटहरुलाई अन्तरिक्षमा स्थापित गरिँदैछ ।

शटवेलका अनुसार स्टारलिंकका स्याटेलाइटहरुले पृथ्वी र मंगल ग्रह दुवैतर्फ इन्टरनेट सुविधा उपलब्ध गराउनेछन् । यी स्याटेलाइटले दुई ग्रहमा रहेका मानिसहरुलाई जोड्ने काम गर्नेछन् ।सीओओ शटवेलका अनुसार जब मानिस मंगल ग्रहमा पुग्नेछन् उनीहरुलाई पृथ्वीमा रहेका मानिसहरुसँग कुरा गर्नु पर्नेछ । यो कामको लागि स्टारलिंक स्याटेलाइटको भूमिका अहम हुनेछ ।

स्पेसएक्सले २०५० सम्म मंगल ग्रहमा १० लाख मानिस पुर्याउने योजना बनाएको छ । कम्पनीको योजनाअनुसार हरेक दिन मंगल ग्रहका लागि ३ उडान उड्नेछन् । हरेक उडानमा १०० जनाले मंगल ग्रहसम्मको यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।

थप भिडियोमा हेर्नुस्