राष्ट्रपति, प्रधानमन्त्री देखि प्रचण्ड, देउवाले दिए दशैँको शुभकामना: कसले के भने ?

राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारी

“आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छ”, शुभकामना सन्देशमा भनिएको छ, “विजयादशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग, जोश र जाँगर थप्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दै मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”

उपराष्ट्रपति नन्दबहादुर पुन

वर्ष दिनमा आइपुगेको महान् चाड दशैँलाई कोरोना भाइरस सङ्क्रमण थप फैलने माध्यम बन्न नदिन र मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन सबैमा अपिल गरेका छन् । विजय दशमीका अवसरमा आज शुभकामना दिँदै उनले कोरोना महामारीका कारण यस वर्षको दशैँ विगत वर्षको जस्तो उल्लासमय वातावरणमा मनाउने अवस्था नरहेकाले सबैले जहाँ छौँ त्यहीँ अवस्थामा घरमै बसेर मनाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

देशमा कोरोनाको सङ्क्रमण र मृत्युदर दुवै निरन्तर बढिरहेको र आगामी दिनमा सङ्क्रमण अझै बढ्ने सम्भावनाले आफूलाई अत्यन्त चिन्तित बनाएको उल्लेख गर्दै उपराष्ट्रपतिले चाडपर्व तथा अन्य समयमा स्वास्थ्य सुरक्षाको नियम पालना गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा विशेष आग्रह गरेका छन् ।

जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँः प्रम

अहिले कोरोना महामारीको यस विषम परिस्थितिमा यस महान् चाडलाई विगतभन्दा फरक ढंगले मनाउनु परेको जनाउँदै प्रधानमन्त्रीले आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित सङ्क्रमणको खतरा ख्याल गर्न सुझाव दिएका छन् ।

ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा सङ्क्रमणको सम्भावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउन उनले सबैमा आग्रह गरेका छन् ।

यसपालिको बडादशैंँ, हामी जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर मनाउन प्रधानमन्त्रीले सबैसँग विनम्र अनुरोध गरेका छन् । सङ्क्रमणको सम्भावित खतरालाई ध्यानमा राखी प्रधानमन्त्री निवासमा हुने ‘बडादशैंको सार्वजनिक टीका कार्यक्रम’ नराख्न निर्देशन दिइएको पनि उनले जानकारी दिएका छन् ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबैमा अपिल गरेका छन्। दशैँ, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले कोभिड–१९ को विषम परिस्थितिमा सुरक्षित भएर पर्व मनाउन अपिल गरेका हुन् ।

कोरोना भाइरसका कारण प्रभावित जनजीवन आगामी दिनमा सामान्य बन्न सकोस् भन्ने कामना गर्दै अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

नेपाली समुदायले मनाउने विभिन्न सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता, भ्रातृत्व र भावनात्मक एकता पैदा गर्ने उल्लेख गर्दै उनले यिनै चाडपर्वले नेपाली समुदायमा राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पु¥याएको बताएका छन् ।

सभापति देउवाद्वारा घर—डेरामै सीमित रहेर पर्व मनाउन आग्रह

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध र अपील गरेका छन् । उनले विजया दशमीका अवसरमा आज सन्देश दिई स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभ–कामना व्यक्त गर्दै कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सांस्कृतिक पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गरेका छन् ।

सभापति देउवाले शुभकामना सन्देशमार्फत विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबूत बनाउँंदै आएको र बनाउनुपर्ने उल्लेख गरेका छन् । विजयादशमीका अवसरमा सभापति देउवाले आफू र काँग्रेसका तर्फबाट स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।