कुवेतमा ६ महिनादेखि तलबबिना काम गर्दै; ४ जना नेपाली त बन्धक नै

कुवेतस्थित लारिज ग्रिल क्याट्रिङ कम्पनीमा कार्यरत १५ जना नेपाली युवा पारिश्रमिक बिना काम गर्न बाध्य भएका छन् । उनीहरूले ६ महिनादेखि पारिश्रमिक पाएका छैनन् ।

उनीहरू काठमाडौँमा रहेको कास्की ओभरसिज म्यानपावरमार्फत विगत १७ महिना अघि कुवेत पुगेका थिए । कम्पनीले उनीहरूलाई कोभिड–१९ को कारण देखाउँदै ६ महिनादेखि तलब नदिएको त्यहाँ कार्यरत कास्कीका दिलबहादुर विश्वकर्माले बताए ।

उनले १५ जनामध्ये ४ जनालाई कम्पनीले बन्धकजस्तै बनाएर कोठामा राखेको बताएका छन् । कामदारलाई कम्पनीले एकै ठाउँ नराखी फरक फरक क्याम्पमा राखेको छ ।

‘कम्पनीले सुरुदेखि नै तलब समयम उपलब्ध गराएको थिएन, पछि झन् कोरोनाको कारणले बिजनेस नभएको भन्दै काम मात्र लगाउँछ, तलब दिँदैन,’ काठमाडौँका सुनिल तामाङले भने, ‘काम नगरे कुट्छन, काम नगरे जे पनि हुन् सक्छ धम्क्याउने गरेका छन् ।’

कुवेतस्थित नेपाली दूतावासमा गुनासो गर्दा पनि खासै चासो नदिएको सुनिलको अरोप छ । उनले आफूहरूको उद्धारका लागि आग्रह गरेका छन् ।