नेताहरुले देशबासीको चित्त दुखाउनु हुँदैन: मनिषा कोइराला

भारतको नयाँ नक्सा सार्वजनिक भएको केही समयमा नै नेपालका प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकार अनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिम्पियाधुरा समेटिएको नयाँ नक्सा सार्वजनिक गरेपछि मनिषा कोइरालाले यो कदमको प्रशंसा गरिन् ।

‘मलाई आश लागेको थियो कि नेपालीले आफ्नो कुरालाई आफ्नो भन्न सकेको थियो। झगडा दाजुभाइमा पनि हुन्छ, त्यसलाई झगडा गरेर टुंगाउनु पर्छ भन्ने त हैन। चाँडै समाधान नहोला तर प्रयास गर्नुपर्छ’, मनिषा भन्छिन्, ‘मलाई प्रधानमन्त्रीजीसँग त्यो बेलामा धेरै गर्व लागेको थियो। तर फेरि अर्कै अर्कै खबर आउछन्। उहाँ केका लागि के गर्नुहुन्छ, बुझ्नै सकिँदैन।’

उनी राजनीति ठीक छ, शक्ति अनि पद ठीक छ तर आफ्नो देश र देशबासीको चित्त दुखाउनुहुँदैन भन्छिन्। तर पछिल्लो परिस्थितिले नेपालका राजनीतिज्ञले प्राप्त गरेको राजनीतिक व्यवस्थाको सम्मान नगरिएको देखिएको मनिषाको बुझाइ छ।

‘प्रजातन्त्र कसरी ल्याइयो, त्यसको महत्व कसरी बुझिन्छ। जुन मेहनत गरेर, बलिदान दिएर लागिपरेर पाएको कुरालाई महत्व गर्छ, तर मलाई यत्तिकै उपहार दियो भने मलाई त्यसको महत्व हुँदैन’, मनिषा भन्छिन्, ‘अब मान्छेले झुट बोलेर पत्याउँदैन। त्यसैले आफ्नो पदको सम्मान गर्नुहोस्। गणतन्त्र र आफ्नो पदलाई दुरुपयोग नगर्नुहोस्। जसले जिताएका छन्, उनीहरुप्रति आभार हुनपर्‍यो र काम गर्नुपर्‍यो। किनकी मानिसले सरकारबाट धेरै आशा गरेका छन्। म पनि सरकारलाई अझ धेरै सक्रिय देख्न चाहन्छु।’

‘मलाई मनुष्य भएको नाताले खबर सुन्दा मन सिरिङ्ग हुन्छ, दु:ख लाग्छ अनि रिस उठ्छ। मलाई हाम्रो देशमा बलियो कानुन नभएको अनुभूति हुन्छ। जब देश नियमन ढंगमा अगाडि बढ्दैन तब नसुनेको खबरहरु आउँछन्। बुढो, सानो शिशुमाथि बला’त्कार भएको छ, यो हद भयो’, उनी भन्छिन्, ‘जबसम्म हामी बलियो उदाहरण दिँदैनौँ, जबसम्म अपराधीलाई कानुनको डर हुँदैन। तबसम्म यो अवस्था रहिरहन्छ। तर अहिले ती अपराधीहरु गुण्डाहरु, माफियाहरु नै शक्तिशाली भइरहेका छन्।’