प्रचण्डको विचारको चाकडी गरेकै हो! जय चाकडीबाज

खास त यसरी जोत्नु पर्छ हलो, यसरी रोप्नु पर्छ धान, यसरी काट्नुपर्छ घाँस, यसरी मस्काउन पर्छ भाँडा भनेर सिकाउनु पर्ने हो। तर आज यसरी गर्नुपर्छ नेताको चाकडी भनेर लेख्दैछु। यो कुनै जीवन उपयोगी सीप त हैन तर जीवन जिउने कलाचाहिँ पक्कै हो । नेपालको शक्ति केन्द्रसँग चाकडीको थरीथरीका नमूनाहरू ठोक्किन पुग्छन् र नेपालको राज्य व्यवस्था चाकडी प्रथाको रूपमा स्थापित नै छ।

नेपालमा कतै राम्रो जागिर चाहियो भने कोही न कोहीको चाकडी त गर्नैपर्छ। सबैभन्दा धेरै जसले चाकडी गर्न सक्छ उसैले जागिर पाउने हो। पढाइको सर्टिफिकेट देखाएर, योग्यता अनि अनुभव भएर काम पाइन्न । चाकडीको भरमा बढुवा हुँदा कयौं सक्षम प्रहरी हाकिमहरू आईजीपी हुन पाउँदैनन्। तल्लो तहमा पनि लाइन मिचिन्छ। सिनियर जुनियरको मतलब हुँदैन। पार्वती थापा मगर एक उदाहरण हुन्। आर्मीमा पनि त्यस्तै छ। शान्ति मिसनमा भीआईपी कोटा हुन्छ, त्यो भनेको भीआईपीको चाकडी नै हो। निजामती कर्मचारीको सरुवा बढुवामा ७० प्रतिशत चाकडीको प्रभाव हुन्छ।

मलाई पनि प्रचण्डको चाकडी गरेको भन्छन् । तर मलाई प्रचण्डको जन्म दिन थाहा छैन। म केक बोकेर गएको पनि छैन। बीचमा फेरि बिहे गरेका थिए। शुभकामना पनि दिइनँ। मलाई यो सब बेकार लाग्छ। तर फागुन १ गते भने राम्रोसँग थाहा छ । फागुन १ नै सबैथोक हो भन्ने लाग्छ। प्रचण्डसँगको मेरो सम्बन्ध फागुन १ मात्र हो। उनको विचारको चाकडी पक्कै गरेको हो। तर म उनी प्रधानमन्त्री भएको दिन खादा बोकेर गइनँ । पशुपतिनाथको कसम मैले चाकडी गरेको छैन। घटनाक्रम अनुसार समर्थन, विरोध भैहाल्छ। तर चाकडीको रूप भने अलिक फरक हुन्छ। त्यो मबाट किमार्थ सम्भव छैन । र यो कुरा जनतालाई पनि थाहा नै छ ।

अहो! चाकडी गर्ने याम त बल्ल आएको छ। तर यसपालि कोरोनाका कारण चाकडीबाजहरू अलिक मौन छन्। हिजो राजा महाराजाहरूको चाकडी गर्नेहरूले यसपालि दशैंको टीका लगाउन पाएनन्। कोरोना आयो नि यार! अब कोरोना भाइरस खारेज गर्न पनि सकिएन ।

केपी ओलीकोमा दशैंको टिका थाप्न जाने हजारौं छोराछेरीहरूको यसपालिको दशैं सामाजिक दुरीका कारण खल्लो हुनेछ। विगतका दशैंहरूमा जस्तै तिनीहरू यसपालि बा, बा भन्दै बालुवाटार जाने छैनन्। सुनिन्थ्यो, प्रधानमन्त्री केपी ओलीको जन्म दिनमा बालुवाटारमा हजारौं थान केक पुग्छन्। फूटबल संघले त केकमा फूटबल नै बनाएर लगेछन्। तर गणतन्त्र नेपालका कम्युनिस्ट प्रधानमन्त्रीले त्यस प्रकारको पूँजीपति तानाशाहीको जस्तो तरिकालाई हैन यसो नगरौं, यो तरिका ठीक हैन भन्न सकेनन्। केक बोकेर लाइन लाग्नेहरूले पनि लाज मानेनन्।

राजनीति पूरा परनिर्भर भएको छ। कसैको आशीर्वाद, संरक्षणविना राजनीतिक यात्रा सम्भव छैन भन्ने तिनलाई परेको छ किनकी यो तिनीहरूले आफ्नै आँखाले देखेका छन्, भोगेका छन्। चाकडीविनाको राजनीति तिनले कल्पना गर्न नसक्ने अवस्थामा पुगेका छन्। यसो हुँदा आफ्ना नेताहरूको चाकडी गर्न नपाए आफू पछि परिन्छ कि भन्ने युवा राजनीतिकर्मीरूलाई लाग्छ। आफैसँग भरोसा नहुँदा यस्तो हुन्छ।

किनकी हेर्नुहोस्, किसानहरूले भनेको समयमा मल पाएका छैनन् । कृषि मन्त्री घनश्याम भुषालले मन ल्याउन भगवानले पनि सक्दैन भन्छन्। तर युवा राजनीतिकर्मीहरू केही बेल्दैनन्, किनकी यो किसानको पक्षमा बोल्दा कसैले कही पनि पाउँदैनन्, तर केही क्रसर उद्योगीलाई प्रशासनबाट केही समस्या होस् त सांसददेखि विद्यार्थी नेतादेखि युवा नेता सबै लावालस्कर लागेर सबै किसिमका सहयोग गर्न खोज्छन्। किनकी त्यहाँ पैसा छ । घनश्याम भुषाल पूरै असफल भैसकेका छन् तर पनि घनश्याम भुसाल दाइ वैचारिक हुनुहुन्छ भन्दै धेरैले अझै चाकडी गर्छन्। किनकी फर्जी योजना बनाएर कृषिको पैसा अलिकति हसुर्न पाइन्छ कि भन्ने तिनको इरादा छ । तर विचारले खान दिँदैन, खान दिने मलले नै हो।

आज गरीब जनता उपचार गर्न नसेकर छटपटाइरहेका छन् । अस्पतालमा अक्सिजन छैन । बेड छैन। सरकार अब हामी उपचार गर्दैनौं भन्छ । बेहोश भए मात्रै अस्पताल आइज भन्छ । विद्यार्थीहरू मारमा छन् । पढाइ नभएपनि स्कूल शुल्क मागिएको छ। नदिए जबरजस्ती विद्यार्थी निकालिएको छ। तर अहँ एकजना युवा राजनीतिकर्मी पनि बेल्दैनन्, आवाज उठाउँदैनन्, किनकी तिनीहरूले स्कूलको साहुबाट पैसा लिएर खाइसकेका छन्।

जय चाकडीबाज !
दिलनिशानी मगर