प्रधानमन्त्री ओलीको विचार र काममा भरोसा गरौँ-मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेको नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ) प्रमुख सामन्तकुमार गोयलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशबाहकका रूपमा नेपाल भ्रमण गरेको दाबी गरेका छन् ।

राष्ट्रियताको विषयमा नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक वार्ताको प्रतीक्षा भइरहेको वेला अचानक प्रधानमन्त्री ओलीले गुप्तचर प्रमुखसँग गरेको भेटले उनको आलोचना भइरहेका वेला ओलीनिकट मानिने नेता पोखरेलको यस्तो भनाइ आएको हो । उनले प्रधानमन्त्री ओलीको आलोचना भएकोमा समेत असन्तुष्टि राखेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘भारतीय प्रधानमन्त्रीको सन्देशबाहकका रूपमा ‘रअ’का प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे । यता नेपाली प्रधानमन्त्रीको विरोध सुरु भो । विरोधको योजना हो या नियति ? बुझ्न गाह्रो भो । आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गरौँ । नेपाल र भारतबीचको सीमा समस्याको परिणाम सुखद होस् कामना गरौँ।’

सत्तारुढ दल नेकपाका नेताले पनि परराष्ट्र नीति, स्वाधीनता, स्वाभिमानको विपरीत प्रधाममन्त्री ओलीले ‘रअ’ प्रमुखसँग भेटेको भन्दै आपत्ति जनाएका वेला मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीको बचाउ गरेका छन्।