मुकेश ह’त्या प्रकरणः अझै भएन जाहेरी दर्ता,देशव्यापी आन्दोलनको चेतावनी

कुटपिटबाट घाइते भइ ज्यान गुमाएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पर्सा बिन्दबासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको ह’त्यारालाई कारबाहीको माग गर्दै शनिबार पनि धर्ना दिइएको छ।

चौरसियाका आफन्तजन तथा नेकपा पर्सा जिल्ला समितिले जिल्ला प्रहरी कार्यालयको अगाडि विरोध स्वरुप धर्ना दिएको हो। चौरसिया ह’त्याको जाहेरी प्रहरीले नलिएको भन्दै आफन्तजन तथा पार्टी समितिले विरोध स्वरुप धर्ना दिएको हो।

धर्नामा चौरसियाका आफन्त, स्थानीयबासी, पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ। सुनियोजित तरिकाले कुटपिट गरी ह’त्या गरिएको भन्दै उनका आफन्तले प्रहरीमा जाहेरी दिन जाँदा पर्सा प्रहरीले हालसम्म पनि जाहेरी लिन मानेको छैन।

जिल्ला प्रहरी कार्यालय अगाडि भएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेताहरुले प्रहरीले जाहेरी लिन नमानेको भन्दै जाहेरी नलिएसम्म आन्दोलन जारी रहने बताएका छन्। उनीहरुले जाहेरी नलिए अगामी दिनमा प्रदेश नम्बर २ हुँदै देशव्यापी आन्दोलन चर्काउने चेतावनीसमेत दिएका थिए।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता मातृका यादवले गृहमन्त्रीदेखि डीआईजी र प्रमुख जिल्ला अधिकारीले पनि आफूलाई जाहेरी दर्ता हुन्छ भनेर आश्वासन दिएको भएपनि अहिलेसम्म प्रहरीले मुद्दा दर्ता नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।