खरा, हक्की तर परिपक्‍व

एकजना हक्की अनि परिपक्‍व पत्रकार माधवकुमार रिमालले यो धरा त्यागेका छन् । उनको अवसानले एउटा कुशल पत्रकार मात्रै होइन, कूटनीतिक क्षेत्रका जानकारलाई पनि मुलुकले गुमाएको छ ।

अंग्रेजी साप्ताहिक पत्रिका ‘स्पटलाइट’का प्रधान सम्पादक तथा प्रकाशक माधवकुमार रिमालको जागिरे जीवनको प्रारम्भ सरकारी सेवाबाट भएको हो । सरकारी सेवामा सेवारत् रहँदा प्रशासनिक र परराष्ट्र सेवा दुवैतिरको अनुभवले उनी खारिएका थिए भने पत्रकारितामा उनको उपस्थिति पनि कोसेढुंगा मानिन्थ्यो ।

माधवकुमार रिमालको जागिरे जीवन अरूहरू झैँ कहिले यो कार्यालय त कहिले ऊ कार्यालय गरेर बित्यो । तर उनको कर्मशीलताले सधैं उनलाई चट्टान झैँ उभ्यायो ।

‘स्पटलाइट’ अंग्रेजी साप्ताहिकका नियमित पाठक तथा पत्रकार रिमालसँग लगभग ३० वर्षदेखि सान्निध्यमा रहेका पत्रकार ध्रुवहरि अधिकारी उनी हक्की मात्रै नभएर दृढ इच्छाशक्ति भएका व्यक्ति भएको बताउँछन् । उनी आफ्नो कर्मप्रति दृढ संकल्पित पनि थिए । त्यसैले बेलाबखत प्रधानमन्त्री नै पनि उनीसँग भेट गर्न हच्किन्थे ।

अधिकारीका अनुसार रिमाल करिब १० वर्ष साबिकको पूर्वपाकिस्तानको राजधानी ढाकामा नेपालको महावाणिज्यदूत भएर बसेका थिए । उनी ढाकामा हुँदा नै बंगलादेश स्वतन्त्र देशका रूपमा स्थापित भएको थियो । रिमालले त्यो आन्दोलन आफूले प्रत्यक्ष देखेको चर्चा आफूसँग गरेको अधिकारी सम्झिन्छन् ।

पत्रकार अधिकारी भन्छन्, “परराष्ट्र सेवामा मात्रै होइन, उहाँले प्रशासन सेवामा पनि काम गर्नुभयो । ०३३/३४ सालतिर डा. तुलसी गिरी प्रधानमन्त्री थिए । त्यसैबेला उहाँ प्रधानमन्त्री कार्यालयमा सहसचिव पदमा कार्यरत हुनुहुन्थ्यो । पछि उहाँ तत्कालीन कोसी अञ्‍चलको अञ्‍चलाधीश पनि हुनुभएको थियो ।”

नेपाली पत्रकारिता क्षेत्रका यी हक्की व्यक्तित्वको चर्चा गर्दै अधिकारीले एउटा पुरानो प्रसंगको पनि चर्चा गरे । नेपालमा पहिलोपटक आमनिर्वाचन हुँदै थियो विसं २०१५ सालमा । त्यो निर्वाचनमा माधवकुमार रिमाल धनकुटा निर्वाचन क्षेत्रको निर्वाचन अधिकृत भएर धनकुटा पुगेका थिए । र उनले त्यहाँ निर्वाचन सम्पन्‍न गराएका थिए ।

यसरी कूटनीतिक तथा प्रशासनिक पृष्ठभूमिबाट आएका माधवकुमार रिमालले सन् १९९१ मा अंग्रेजी पाक्षिक पत्रिका ‘स्पटलाइट’को प्रकाशन सुरु गरे, प्रधान सम्पादक तथा प्रकाशक भएर । अनि सन् १९९३ देखि रिमालले पाक्षिक स्पटलाइटलाई साप्ताहिक पत्रिकामा परिणत गरे ।

पत्रकार अधिकारीका अनुसार रिमालको सम्पादकत्वमा ‘स्पटलाइट’ साप्ताहिक सन् २००८ सम्म प्रकाशनमा आयो । त्यसपछि बन्द भयो । पछिका दिनमा ‘स्पटलाइट’कै टिममा रहेका केशव पौडेलले यसको प्रकाशनलाई निरन्तरता दिएको अधिकारी सम्झन्छन् ।

अधिकारी भन्छन्, “स्पटलाइट’का प्रधान सम्पादक तथा प्रकाशक माधवकुमार रिमालको अर्को महत्त्वपूर्ण प्रसंग उल्लेख गरौं । उहाँ पत्रकार नै भएको हैसियतमा २०५८ जेठ १९ गते, जुन दिन राजदरबारमा काण्ड भयो, त्यो काण्ड हुनुभन्दा एक घण्टाअगाडि राजा वीरेन्द्रसँग भेट्ने व्यक्ति हुनुहुन्थ्यो माधवकुमार रिमाल । यस सम्बन्धमा उहाँले एउटा सानो किताब प्रकाशित पनि गर्नुभएको थियो ।”

रिमालसँग पत्रकार अधिकारीको सम्बन्धसेतु त पत्रकारिता नै थियो । तर अधिकारीका पिताजीसँग रिमालको चिनाजानी भएको कारण पनि अधिकारी र रिमालबीच स्नेहपूर्ण सम्बन्ध रहन गएको थियो । यो प्रसँग यसरी सम्झिए अधिकारीले, “मेरा पिताजी पनि कुनैबेला सरकारी सेवामा हुनुहुन्थ्यो । उहाँहरुका बीचमा चिनाजानी रहेछ । मसँग भेट भएर परिचयका क्रममा मेरा पिताजीको नाम जोडिए पछि उहाँले मलाई अझै बढी स्नेह गर्न थाल्नुभयो र हामीबीच भेटघाट पनि निरन्तर हुन थाल्यो । उहाँले आफ्नाबारे मलाई कतिपय कुराहरु बताउनुभएको थियो ।”

अंग्रेजी पत्रिका निकाल्नु आफैंमा कठिन काम थियो । नेपाली पत्रपत्रिकाकै पाठक सीमित भएको त्यस परिस्थितिमा अंग्रेजीका पाठक कति हुन्थे होलान् र ? तथापि, उनले अंग्रेजी जान्नेहरुका लागि एउटा पठनीय विचारप्रधान पत्रिकाको व्यवस्था गरिदिए, ‘स्पटलाइट’ नाम जुराएर ।

अधिकारीका अनुसार उनी आफू पत्रकारितामै संलग्‍न रहे पनि कहिल्यै रिमालको पत्रिकासँग जोडिएनन् । अपितु रिमालसँग उनको अत्यन्तै आत्मीय सम्बन्ध रह्‍यो । त्यही सम्बन्धको परिणाम थियो, समय-समयमा रिमालले अधिकारीलाई आफूले लेखेका सम्पादकीयहरुका विषयमा बताउने र सुझाव लिने । सरसल्लाह गर्ने ।

रिमाल परिपक्‍व र सबै कुरा बुझेका व्यक्ति थिए । उनी जति दृढसंकल्पित थिए, इच्छाशक्ति उनको उत्तिक्कै उच्च थियो । हक्की मात्रै होइन, झोक्की पनि थिए उनी । कोहीसँग नदब्‍ने स्वभावका ।

यति हुँदाहुँदै पनि उनको सम्बन्ध सबैसँग सुमधुर थियो । कूटनीतिक क्षेत्रमा पनि उनको सम्पर्क र सम्बन्ध राम्रो भएकाले ‘स्पटलाइट’लाई निरन्तरता दिइ नै रहे । पत्रिकाले पनि पाठकहरुको साथ पाइरह्‍यो । अधिकारी भन्छन्, “एउटा कुरो के थियो भने, पाठकले खोजेका कतिपय सामग्री अरू पत्रिकामा पाइन्थेन । त्यसका लागि स्पटलाइट नै पढ्नुपर्थ्यो ।”

त्यसैले पनि होला, ‘स्पटलाइट’ पाठकका लागि स्पटलाइट झैँ चहकिलो र उज्यालो थियो । धेरै घरको बैठककोठाको टी-टेबुलमा यसले स्थान पाएको थियो ।

वरिष्ठ पत्रकार अधिकारीका अनुसार रिमालको हक्की स्वभाव र खरो प्रश्‍न गर्ने शैलीले गर्दा कतिपय प्रधानमन्त्रीहरू नै पनि उनीसँग भेट्दा ‘केही अप्ठेरो प्रश्‍न सोधी पो हाल्ने हुन् कि’ भन्‍ने संशयले त्रस्त रहन्थे । त्यसैले भरसक रिमालसँग पन्छिन्थे ।
अधिकारी भन्छन्, “पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईले उहाँको निधनपछि आफ्नो फेसबुक पेजमा उहाँका विषयमा लामो दृष्टिकोण लेख्नुभएको छ । त्यसमै एउटा हरफ छ- ‘इन हिज डेथ, नेपाल ह्‍याज लस वन अफ द मोस्ट इन्फ्र्मड एन अलर्ट सिटिजन’ ।”

पत्रिका प्रकाशन सहज काम होइन । बाहिरबाट हेर्दा सजिलो र सहज लागे पनि पत्रिकामा चाहिने स्तरीय सामग्री जुटाएर त्यसलाई निरन्तर पाठकसमक्ष पुर्‍याउनु आफैंमा कठिन छ । जतिखेर नेपाली भाषामा प्रकाशित हुने म्यागेजिनहरूलाई निरन्तरता दिन गाह्रो भइरहेको थियो, त्यहीँ स्पटलाइट हरेक साता नबिराई प्रकाशनमा आइरहेको थियो ।

प्रेस सञ्‍चालक लक्ष्मीकिशोर श्रेष्ठ स्पटलाइको निरन्तरताका सम्बन्धमा भन्दै थिए, “मैले लामो समय ‘स्पटलाइट’ छापें प्रेसमा । यस्तै १० वर्ष होला ।”

यसरी जस्तोसुकै अवस्था आइपरे पनि आफ्नो कर्मलाई निरन्तरता दिने कर्मशील पत्रकार माधवकुमार रिमालको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुर्‍याएको छ । तर पनि उनको कर्मशीलता पत्रकारितामा लाग्‍नेहरूका लागि एउटा पाठ हुनेछ ।