भारतमा चुनावी वाचा – भोट देऊ, सित्तैमा भ्याक्सिन लेऊ

बिहारमा कोरोनाबाट कति संक्रमित छन् र कतिले ज्यान गुमाए भन्ने विषय यथेष्ट रुपमा बाहिर नआएको हुन सक्छ, तर धेरै मतदातामाझ सित्तैमा भ्याक्सिन वितरण हुने खबर फैलिसकेको छ ।

बिहारवासीहरुका लागि कोरोना भ्याक्सिन निःशुल्क उपलब्ध हुनेछ, भारतीय जनता पार्टीको चुनावी संकल्पपत्रमा यस्तो उल्लेख छ । केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले पटनामा संकल्पपत्र जारी गर्दै यस्तो घोषणा गरेकी हुन् । यससँगै भाजपामाथि कोरोना महामारीको राजनीतिकरण गरेको आरोप लागेको छ । संसारभर कोरोनाको प्रकोप अझै कायम छ । सिङ्गो युरोपमा कोरोनाको दोस्रो र तेस्रो लहरको भय छ । यस दौरान धेरै देशमा चुनाव भयो ।

तर भ्याक्सिनलाई चुनावबाट अलग राखियो । ताजा उदाहरण अमेरिकाकै हो, जहाँ ३ नोभेम्बरमा मतदान हुँदैछ । तर ट्रम्प सरकारले कुनै वाचा गरेको छैन । यस्तोमा भारतको एक राज्यको विधानसभा चुनावमा भाजपाले सित्तैमा भ्याक्सिन दिने वाचा गरेसँगै राजनीति स्वभाविक रुपमा गर्माएको छ ।