सरकारी ल्याब बन्द गरेर निजीको उदघाटनमा मन्त्री !

समुदायस्तरमा कोरोना संक्रमण देखिएको प्रदेश १ मा कोरोना जाँचका लागि सरकारी स्तरबाट सञ्चालन भएका ल्याबले नयाँ नमुना लिन छाडेका छन् । दशैंको छुट्टी भन्दै सरकारी अस्पतालका ल्याबले नयाँ स्वाब संकलन गर्न छाडेका हुन् ।

सरकारी तहबाट हुने स्वाब संकलन रोकिएकै दिन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की विराटनगरका उद्योगीले स्थापना गरेको पीसीआर ल्याबको उदघाटन गर्न पुगेका छन् ।

विराटनगरमा चाउचाउ र बिस्कुटको उद्योग सञ्चालन गर्दै आएका महेश जाजु, पाइप, ट्याङ्की र ग्यास उद्योग सञ्चालन गर्दै आएका नविन रिजाल, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा र अनिल शाहले सञ्चालन गरेको ल्याब मन्त्री कार्कीले रिबन काटेर उदघाटन गरे । उद्योगीले पाँच करोडको लगानीमा ‘बि सियोर’ ल्याब सञ्चालनमा ल्याएका थिए ।

महामारीको समयमा सरकारी ल्याबको सेवा बन्द गरेर जिम्मेवार मन्त्री निजी ल्याब उदघाटन गर्न जानु लज्जाको विषय भएको अधिकारवादी संस्था पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुंगेल बताउँछन् ।

‘महामारीमा सरकारी तहबाट हुने स्वाब संकलन र परीक्षण बन्द गरेर मन्त्री निजी उदघाटनमा जानु लाजमर्दाे विषय हो,’ उनले भने, ‘यस्तो शैलीले सरकार जनताप्रति होइन, व्यापारीप्रति उत्तरदायी भएको देखाउँछ ।’

रिवन काटेर ल्याब उद्घाटन गरेलगत्तै मन्त्रीमा कोरोना संक्रमण पुष्टि