रिवन काटेर ल्याब उद्घाटन गरेलगत्तै मन्त्रीमा कोरोना संक्रमण पुष्टि

विराटनगरका उद्योगी समूहले सञ्चालनमा ल्याएको एक प्रयोगशाला(ल्याब) उद्घाटनमा सहभागी प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

मन्त्री कार्कीले शुक्रबार सामाजिक सञ्जालमा पोष्ट गर्दै आफू कोभिड १९ बाट संक्रमित भएको उल्लेख गरेका छन्।

गत असोज २९ गते पनि पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएको उल्लेख गरेका मन्त्री कार्की बिहीबार विराटनगरमा उद्योगी तथा व्यापारीबाट सञ्चालित नीजि प्रयोगशाला उद्घाटन कार्यक्रममा सहभागि थिए।

सरकारी निकायका अस्पताल र प्रयोगशाला दसैँ र कर्मचारी अभावका कारण देखाउँदै पिसिआर नमूना संकलन परीक्षण गराउनपछि हटिरहँदा मन्त्री कार्की नीजि क्षेत्रबाट सञ्चालित प्रयोगशालाको उद्घाटनमा पुगेका हुन्।

यस विषयमा चर्को आलोचना सुरु भएको छ । सरकारी निकाय बन्दको अवस्थामा एकाएक प्रयोगशाला सञ्चालनका लागि अनुमति हासिल गर्नु आफैमा पनि आश्चर्यजनक भएको नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्की बताउँछन् ।

उनले भने, ‘सरकारी मातहतका निकाय बन्द गरि सरकारकै जिम्मेवार व्यक्तिहरु नीजि क्षेत्रको प्रयोगशाला उद्घाटन गर्ने सन्र्दभ आफैमा मेल खाने विषय भएन। सरकारी निकाय बन्द गरि त्यहाँ प्रोत्साहन गर्न पुग्ने नै आफ्नो पदको गरिमा नबुझेको हो। त्यसरी पदमा बसिराख्न उहाँहरु लायक पनि हुनुहुन्न।’

जनताको पिसिआर रिपोर्ट आउन १० दिन बढिको समय लाग्ने अवस्थामा मन्त्रीको केही घण्टामै रिपोर्ट आएको भन्दै प्रमुख सचेतक कार्कीले असन्तुष्टि समेत व्यक्त गरेका छन्।

यसले पनि मन्त्री पदमा आसिन ब्यक्ति जनताप्रति जिम्मेवार नदेखिएको प्रस्ट भएको उनले बताए। अर्कोतर्फ सामाजशास्त्री डा.चन्द्र तिम्सिनाले अत्यावश्यक सेवा नै बन्द गरि बिदामा बस्नुले तीन तहको सरकारको खिल्ली उडाएको बताए।