गुह्येश्वरी गर्भगृहको १७३.५ तोला सुन गायब ! खिइएर हराएको संस्थानको दाबी

गुह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन अनियमितता भएको तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरी मन्दिर गर्भगृह मर्मत सम्भार गर्ने क्रममा अष्टदल र भैरवको मूर्तिमा रहेको १७३.५ तोला अर्थात् करिब दुई किलोभन्दा बढी सुन अनियमितता भएको भेटिएको हो ।

अष्टदलको मूर्तिमा साविकमा ३७९ तोला सुन थियो । मर्मत सम्भार गर्ने क्रममा निकालेर जोख्दा २९४ तोलामात्र भेटिएको कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए । अष्टदलमा ८५ तोला सुन अनियमितता भएको भेटिएको छ । यसैगरी भैरवको मूर्तिमा साविकमा ३३४ तोला सुन भएकामा मर्मत सम्भारका क्रममा निकालेर जोख्दा २४५.५ तोलामात्र पाइएको छ । भैरवको मूर्तिबाट ८८.५ तोला सुन गायब भएको छ ।

“साविकको सुन गायब भएपछि रु दुई करोड ११ लाख खर्च गरी कोषले सुन थपेर अष्टदल र भैरवको मूर्ति पुनःनिर्माण गरेको छ, सुनका दुवै संरचना विसं २०५७ मा निर्माण भएको हो, १८÷१८ वर्षमा सवा दुई करोडको सुन अनियमितता भयो भने यो रकम कसले व्यहोर्ने ?” – उनले भने ।

गुह्येश्वरी मन्दिर कोष मातहत नै भएपनि यहाँको व्यवस्थापन गुठी संस्थानले गठन गरेको समितिले गर्दै आएको छ । द्वैध स्वामित्वका कारण मन्दिरमा बेला बेलामा विवाद आउने गरेको छ । व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गी गुह्येश्वरी मन्दिरमा अण्डा, जाँड, रक्सी जस्ता तामसी चीज पनि चढाइने भएकाले सुन खिइएर गएको दावी गर्छन् ।-रासस