निजी अस्पतालको मनोमानीः एकदिनकै उपचार शुल्क ५० हजार;धरौटी पनि लाखौ

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने घोषणा सरकारले गरेसँगै विराटनगरका निजी अस्पतालले संक्रमितको उपचारको लागि चर्को शुल्क तोकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा कोरोना संक्रमितको निःशुल्क उपचार गर्दै आएका विराटनगरका निजी अस्पतालले संक्रमितको उपचारमा दैनिक ५० हजार रुपैयाँसम्म शुल्क तोकेका छन् ।

विराटनगरको न्युरो अस्पताल, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजले संक्रमितको निःशुल्क उपचार गर्दै आएका थिए । स्वास्थ्य मन्त्रालयले सामान्य लक्षण देखिएका संक्रमितले निजी अस्पतालमा उपचार गर्दा ३ हजार ५००, जटिल अवस्थाको विरामीको उपचार गर्दा ७ हजार र गम्भीर अवस्थाका विरामीको उपचारमा दैनिक १५ हजार शुल्क तोकेको छ । यो खानासहितको जम्मा शुल्क हो ।

यसअघि विरामीको निःशुल्क उपचार गर्नेगरि सम्झौता गरेका अस्पताललाई सरकारले सोही आधारमा भुक्तानी गर्ने सम्झौता गरेको छ । यद्यपी निःशुल्क उपचारको लागि भर्ना भएका अस्पतालले विरामीसँग पनि अतिरिक्त शुल्क लिँदै आएका थिए ।

सरकारले संक्रमित बिरामीको उपचार खर्च नबेहोर्ने निर्णय गरेपछि भने ती अस्पतालले दैनिक ५० हजारसम्म शुल्क तोकेका हुन् । उनीहरुले संक्रमितको उपचारको लागि आएमा धरौटी वापत नै १ लाख रुपैयाँ माग्न थालेका छन् ।

संक्रमितको उपचारको लागि सरकारले यसअघि तोकेको भन्दा ३ गुणाभन्दा बढि शुल्क निजी अस्पतालले तोकेका छन् । अब सामान्य लक्षण भएका संक्रमितले आइसोलेसनमा भर्ना भएर उपचार गर्दा दैनिक ५ हजारदेखि ८ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । यसअघि निःशुल्क उपचार प्राप्त गर्दै आएका सामान्य लक्षण भएका संक्रमितले पनि अब निजी अस्पतालमा १५ दिन बस्नु परेमा १ लाख २० हजार रुपैयाँ बुझाउनुपर्छ ।