नवरात्रमा भगवती दुर्गाको महत्ताे

आश्विन शुक्लपक्ष प्रतिपदादेखि दशमीसम्मको १० दिनलाई दसैं भनिन्छ। १० दिनमा नौ रात हुने हुँदा यो अवधिलाई नवरात्र भनिन्छ। नवरात्रमा भगवती दुर्गाको पूजा–उपासना गरिने र दुर्गोत्सव शरदऋतुमा पर्ने हुँदा यसलाई शारदोत्सव पनि भनिन्छ। नवरात्रमा भगवती दुर्गाको आराधनाको ठूलो महिमा छ। दुर्गोत्सवका विषयमा नवरात्र–प्रदीप, देवीभागवत, दुर्गाभक्ति तारंगिनी, मार्कण्डेयपुराणअन्तर्गतको दुर्गासप्तशतीका साथै पुराण वाङ्मयमा नवरात्रमा गरिने दुर्गा आराधनाका विषयमा प्रकाश पारिएको छ। देवताका तेजबाट देवीको आविर्भाय, देवीको स्वरूप, देवताबाट आयुधप्राधित, देवीद्वारा महिषासुर, चण्ड–मुण्ड–शुम्भ–निशुम्भ आदि दानवको बध र विजय प्राप्तिका बारेमा यी पुस्तकमा पढ्न पाइन्छ। दुर्गा मातालाई असत्यमाथि सत्यको जित र अन्यायमाथि न्यायको प्रतीकका रूपमा लिइन्छ।

नवरात्रको व्रतलाई महासिद्धि दिने, शत्रुको सम्हार गर्ने र सबै प्राणीको उपकार गर्ने विशिष्ट व्रत मानिएको छ। विशेष गरेर ब्राह्मणहरूले यज्ञ सम्पादन, क्षेत्रीयहरूले पृथ्वीपालन, वैश्यहरूले गोधन वृद्धि, शत्रुहरूले पुत्र र सुख प्राप्ति, नारीहरूले सौभाग्य प्राप्ति र सम्पन्नहरूले धन प्राप्तिका निमित्त नवदुर्गा भगवती महिषासुरमर्दीय उपासना गर्छन्। यो महापुण्यदायक महाव्रत हो। यसैले भगवान् शंकर, ब्रह्माजी, विष्णु, इन्द्र आदि देवताले पनि विभिन्न अवसरमा नवरात्रव्रत गरेका थिए।

आश्विन शुक्ल प्रतिपदालाई घटस्थापना भनिन्छ। यस दिन प्रत्येक घरमा तामा, पित्तल, चाँदी या माटोका भाँडामा पञ्चतत्वको रूप मानी पाँचवटा ठाडा धर्सा गाईको गोबरले बनाई षोडषोपचारले पूजा गरी जौ रोपिन्छ। साथै शुद्ध बालुवासाथ टपरीमा जमरा राख्ने प्रचलन छ। यसै दिनदेखि दुर्गा पूजा प्रारम्भ हुन्छ।

दुर्गा मातालाई असत्यमाथि सत्यको जित र अन्यायमाथि न्यायको प्रतीकका रूपमा लिइन्छ।
पहिलो दिनदेखि क्रमश: शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालरात्री महागौरी, सिद्धिदात्री गरी नौ दिनपर्यन्त नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डि) पाठ गरिन्छ। महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा र आराधना गरिन्छ।

शैलपुत्री : विधिपूर्वक घटस्थापना गरेर जौ, गहुँको जमारा राखी प्रारम्भ गरिएको दुर्गापूजाको पहिलो दिन शैलपुत्रीको पूजा गरिन्छ। पहिलो जन्ममा दक्ष प्रजापतिका गृहमा सतीदेवीका रूपमा र अर्को जन्म हिमालयका घरमा शैलपुत्रीका रूपमा उनको प्रार्दुभाव भएको हो। वृषभ वाहनमा चढेकी, दाहिने हातमा त्रिशूल र देब्रे हातमा कमलको फूल लिएकी यिनै देवीको आराधना गर्नाले अटल सौभाग्य, सुख, शान्ति, समृद्धि मिल्नेछ। आयुर्वेदमा शैलपुत्रीलाई हर्रोका रूपमा लिइन्छ।

ब्रह्मचारिणी : नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरूपको ध्यान र पूजा गर्ने गरिन्छ। ब्रह्मचारिणीको शाब्दिक अर्थ ब्रह्म (तपस्या) को आचरण गर्ने भन्ने हुन्छ। ब्रह्मचारिणी सेतो वस्त्र धारण गरेकी, दाहिने हातमा जयमाला र देब्रे हातमा कमण्डलु लिएकी, खाली पाउमा सवार भएकी देवीको दिव्य स्वरूपको ध्यान गर्ने गरिन्छ। उनको आराधना गर्नाले आयु तथा स्मरण शक्ति वृद्धि र रक्त विकार शुद्ध गर्न तथा वाणीमा मिठास ल्याउन यी भगवतीको ध्यान गरिन्छ।

चन्द्रघण्टा : दुर्गा देवीको तेस्रो रूप चन्द्रघण्टा हो। १० भूजा भएकी, शरीरको रङ सुनको जस्तो देदिप्यमान सिंहवाहन भएकी, सदैव युद्धमुद्रामा देखिने चन्द्रघण्टा देवी मानवमा वाणीको प्रतिनिधित्व र राक्षसी प्रवृत्तिको विनाश गर्छिन्। यी ग्रहहरूमा शत्रु ग्रहको प्रतिनिधित्व गर्छिन्। आयुर्वेदमा चम्सुर (साग) लाई माताको अंशका रूपमा मानिन्छ।

कुष्माण्डा : नवरात्रको चौथो दिन कुष्माण्डा देवीको आराधना गरिन्छ। जुन समयमा संसार अन्धकारमय थियो, सृष्टि भएको थिएन, यसै समयमा आफ्नो हाँसोद्वारा विश्व–ब्रह्माण्डको उत्पत्ति गरेकी हुनाले दुर्गादेवीको नाम कुष्माण्डा रहन गएको हो।

कुष्माण्डा भनेको कुभिन्डो हो। तसर्थ पृथ्वी कुभिण्डाकार देखिन्छ। अष्टभूजा भएकी, हातमा चक्र, गधा र अमृतपूर्ण कलश, कमलको फूल, वाण, धनुष, कमण्डलु र जपमाला वाहन सिंह भएकी आदिशक्ति स्वरूपा भवानीदेवी मानव मात्रमा गर्भाधान शक्तिको स्वरूप प्रदान गर्छिन्। आयुर्वेदअनुसार कुभिण्डो मानसिक रोगीका लागि अमृतसमान रहन्छ। साथै कुभिण्डो पञ्चबलिअन्तर्गत बलि दिने प्रचलन छ।

स्कन्धमाता : पाँचौं दिन स्कन्धमाताको पूजा र आराधना गरिन्छ। कार्तिकेय देवासुर संग्राममा देवताका सेनापति थिए। यिनै स्कन्दको आमा भएकाले भगवती दुर्गाको यस अवतारलाई स्कन्धमाता भनिएको हो। उनी स्कन्धलाई काखमा राखी दायाँ हातमा कमलको फ्mूल र बायाँतर्फ वरमुद्रा धारण गरी सिंहवाहनमा सवार हुन्छिन्। मानव मात्रलाई सांसारिक सुख भोगपश्चात् सद्गति मार्ग खुलाउने, सन्तान सुख दिने, यश, आराम, सुख, समृद्धि, कीर्ति आदि प्राप्त हुन्छ। आयुर्वेदमा आलसलाई स्कन्धमाताको अंशका रूपमा मानिएको छ।

कात्यायनी : आद्यजगत् जननी दुर्गामाताको छैटौं दिन कात्यायनीको पूजा तथा आराधना गरिन्छ। कत नाम गरेका विशिष्ट महर्षि कात्यायनले पुत्री प्राप्तिका लागि कठोर तपस्या गर्दा माता प्रसन्न भई प्राकश्य भइन्। गोपिनीहरूले श्रीकृष्ण भगवान्लाई पति (कात्यपति) का रूपमा पाउनका लागि माता कात्यायनीको प्रार्थना गरेका थिए। साधनामा लागेकाहरूले धर्म, अर्थ, काम र मोक्षका दाता, भर्ता र हर्ताका रूपमा कात्यायनीलाई मान्छन्। विवाहमा वाधा र दाम्पत्य जीवनमा बेमेल भएका मानवले माताको आराधना गर्दा शीघ्र विवाहका साथै जीवन सुख बन्दछ।

कालरात्री : यस दिन दुर्गामाताको कालरात्री स्वरूपको पूजा गरिन्छ। कालरात्री भनेको अज्ञान, अन्धकार, भय, डर, त्रास र विनाशिनी भनेको शुभकारी, फ्mलदायी भावमा कालरात्री नामकरण भएको पाइन्छ। यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम आदिको पूजा गरिन्छ। सबै प्राणीलाई मृत्युको समयमा यस स्वरूपको अनुभव हुन्छ।

महागौरी : नवरात्रको आठौं दिन महागौरी (महाकाली, महालक्ष्मी र महासरस्वती) को विशेष पूजाआजा गरिन्छ। महाअष्टमी र महानवमीबीचको रातभरि गुप्तपूजा गरिन्छ। शिवलाई पतिका रूपमा प्राप्त गर्न महागौरीले कठोर तपस्या गरेकी थिइन्। सोही कारणले उनको शरीर कालो भयो। तपस्यादेखि प्रसन्न भउका भगवान् शिवले उनको शरीर गंगाजलले स्नान गराई कान्तिमय बनाउनुभयो। त्यस्ती महाकाली दुर्गादेवीलाई मानवले पशुबलि दिई खुसी पार्ने प्रयास गर्छन्। शाकाहारीले कुभिन्डो, केरा, घिरौंला, लौका आदि फलको बलि दिन्छन्। यस्ती देवीको पूजापाठ र आराधना गर्दा असम्भव कार्यलाई सम्भव, असत्यमाथि सत्यको जित, अधर्ममाथि धर्मको विजय, निर्गुणीलाई सगुणीतर्फ लाग्न प्रेरणा मिल्छ। आयुर्वेदअनुसार तुलसीको अंशावतारका रूपमा महागौरीलाई मानिन्छ। यसै दिन अस्त्र–शस्त्र, सवारीसाधन, औजार, खड्ग आदिको पूजा गरिन्छ।

सिद्धियात्री : शारदीय नवरात्रको नवौं दिन अर्थात् महानवमीमा भवानी दुर्गाको सिद्धिदात्री स्वरूपको आराधना गरिन्छ। सम्पूर्ण सिद्धि प्रदान गर्ने देवी हुन्। महामाया भगवतीले मोहिनी रूप धारण गरी दानवहरूको संहार गरेकाले नवमीको दिनलाई मोहनी भनिन्छ। यस दिन दुई वर्षदेखि माथिका कन्यालाई पूजा गरी मिष्ठान्न खुवाई दान–दक्षिणा दिइन्छ। सिद्धिदात्री देवीको आराधना गर्नाले अणिमा, महिमा, गरिमा, लद्यिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व गरी आठ सिद्धि प्रदान गर्दछिन्। सृष्टिका क्रममा देवादिदेव महादेवले पनि आराध्यदेवीका रूपमा सिद्धिदात्री देवी योगमायाको अनुकम्पाले त्रिदेव क्रमश: ब्रह्मा, विष्णु, महेशको रूप धारण गरी जगत्को सृष्टि, स्थिति र प्रलय गर्नुभएको छ। साथै शिवजीले उनै देवीको कृपाशक्तिद्वारा अर्धनारेश्वर स्वरूप धारणा गर्नुभएको छ। आयुर्वेदअनुसार देवीको अंश कुरिलोमा पाइन्छ।

दशमीका दिन विजयोत्सवका रूपमा मान्यजन, आफ्mूभन्दा ठूला व्यक्तिका हातबाट अक्षता, जमरा, तिलक, टीका, प्रसाद ग्रहण गरिन्छ। भगवान् मर्यादा पुरुषोत्तम रामले माता दुर्गाको नौ दिनको व्रतकथासनापछि रावणको वध गरी असत्यमाथि विजय प्राप्त गरेका थिए। उनै माताको आर्शीवाद थाप्न कोजाग्रत पूर्णिमापर्यन्त मानिसहरू इष्टमित्र र मान्यवरकहाँ टीका प्रसाद ग्रहण गर्न जाने गर्छन्। यसरी कोजाग्रत पूर्णिमाकै दिन दसैं पनि विसर्जन गरिन्छ।