नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै

नवरात्रको छैटौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो।

छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन्।