दुई महिनामा १ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो,

कोरोना भाइरसको महामारीका कारण घट्ने अनुमान गरिएको रेमिट्यान्स बढ्दै गएको छ । चालु आर्थिक वर्षको दुई महिना अर्थात् साउन र भदौमा १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो रकम अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा ८ दशमलव १ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको साउन र भदौ अवधिमा रेमिट्यान्स शून्य दशमलव ६ प्रतिशतले घटेको थियो ।

चालु वर्षको पहिलो दुई महिनामा अमेरिकी डलरमा आउने रेमिट्यान्स २ दशमलव ६ प्रतिशतले बढेर १ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो रकम १ दशमलव ६ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि फेरि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या दुई महिनामा ८६ दशमलव ५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो सङ्ख्या १० दशमलव ३ प्रतिशतले बढेको थियो ।