चीन नेपालको भरपर्दो र विश्‍वासिलो साझेदार- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमापार रेलवे सञ्चालन र पूर्वाधार विकाससहित सम्पर्क सञ्जालका परियोजनामा नेपाल-चीन सम्झौताको व्यावहारिक कार्यान्वयनको समय आएको बताएका छन्।

प्रधानमन्त्री ओलीको उक्त लिखित सन्देश राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरे। प्रधानमन्त्री ओलीले पछिल्ला वर्ष चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले आपसी सम्बन्धलाई रणनीतिक साझेदारमा रुपान्तरण गर्न योगदान गरेको बताए।

उनले दुई देशबीच परस्पर सम्मान, विश्वास र सहकार्यमा दुई देश र यहाँका पार्टीबीचको सम्बन्धी रहिआएकाले आगामी दिनमा अझ विस्तार हुने विश्‍वास जनाएका छन्।

ओलीले आफू नेतृत्वको सरकार स्थायित्व र विकासका साथै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई व्यवहारमा उतार्न लागिरहेको पनि दाबी गरेका छन्।

‘शान्तिपूर्ण सह-अस्तित्वलगायत पञ्चशीलका सिद्धान्तका आधारमा नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध छ। चीनले पनि नेपालको सार्वभौमसत्ता र सार्वभौमिकतामा सदैव सम्मान गरेको छ’, प्रधानमन्त्रीले अगाडि भने, ‘चीनले अरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति लिएको छ। त्यहीकारण चीन नेपालको भरपर्दो र विश्‍वासिलो साझेदार बनेको छ।’